काठमाण्डौ । सेयर बजार बिहीबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज २७.५६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०६८.२६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४१ अंकले बढेर ४००.०८ को विन्दुमा पुगेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल आज कारोबारसहित बजारमा सुधार आएको बताउँछन्। ‘बजार लामो समयदेखि २००० को विन्दुभन्दा तल आउन मानेको छैन’, उनले भने, ‘अल्पकालमा बजार तलमाथि हुनु सामान्य हो। दीर्घकालका लागि लगानी गर्न यो निकै राम्रो समय छ।’
लगानीकर्तामा पोजिटिभ सेन्टिमेन्ट भयो भने बजार माथि नै जाने अर्याल बताउँछन्। ‘राष्ट्र बैंक उदार भइदिने हो भने बजार छिटो समयमै नयाँ उचाइ चुम्ने देखिन्छ’, उनले भने।
अहिले मुख्य गरी तरलता संकटले नै बजारमा दबाब परेको अर्यालको भनाइ छ।
सक्रिय लगानीकर्ता दामोदर गजुरेल अहिले बजारमा किन्ने र बेच्नेबीच बार्गेनिङ चलिरहेको बताउँछन्। ‘आज कारोबार बढेकोले बजार धेरै नघट्ने देखिन्छ’, उनले भने, ‘देशको आर्थिक अवस्था पनि सुधार भएको छ। अब ठूला लगानीकर्ताहरु पनि पस्ने देखिन्छ।’
नाफा बुक गर्दै लगानीकर्ता सेयर बाई ब्याक गरिरहेको अवस्था रहेको गजुरेल बताउँछन्। ‘प्राविधिक रुपमा भने बजारमा खरिद कन्फर्मेसन नबनिसकेको तर सुधारोन्मुख देखिन्छ’, उनले भने।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
आज विकास बैंक समूह सर्वाधिक ३.१७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.०१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५६ प्रतिशत, व्यापार समूहमा १.०४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२८ प्रतिशत, जलविद्युत समूहमा २.९८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०५ प्रतिशत, अन्य समूहमा २.२६ प्रतिशत, लघुवित्त समूहमा १.३२ प्रतिशत, जीवन बीमा समूहमा ०.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशत तथा लगानी समूहमा १.५ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन रिडी पावरको सर्वाधिक १० करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावारको ७ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड ३ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ५६ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९७ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ७५ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ३५ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ११ लाख रुपैयाँ र अपर तामाकोशीको ४ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत तथा श्वेत–गंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। हिमालयन हाइड्रोपावरको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19