काठमाण्डौ । सेयर बजार बुधबार पनि सामान्य अंकले उकालो लागेको छ। 

बजार आज २.८६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०५७.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६ अंकले बढेर ३९८.२९ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर डेढ अर्ब रुपैयाँ बढीको भएको छ। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की केही दिनदेखि बजार साइडवेजमा चलेको बताउँछन्। ‘बजारको चाल हेर्दा कुनै पनि बेला बाउन्सब्याक हुन सक्ने देखिन्छ’, उनले भने। 

बजार तल्लो बेसमा रहेकोले धेरै नघट्ने पनि कार्कीको भनाइ छ। ‘ब्याजदर पनि बढ्ने सम्भावना छैन’, उनले भने, ‘चुनावको मिति पनि घोषणा भइसकेको अवस्था छ। त्यसैले बजार सकारात्मक नै हुने देखिन्छ।’

अहिलेको अवस्थामा दीर्घकालीन लगानी उपयुक्त हुने कार्कीको सुझाव छ। 

सक्रिय लगानीकर्ता दामोदर गजुरेल पनि बजार साइडवेजमै चलिरहेको बताउँछन्। ‘प्राविधिक रुपमा बजारको दिशा प्रस्ट हुन सकेको छैन’, उनले भने, ‘लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बसेको जस्तो देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक ०.६७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.४७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३२ प्रतिशत, विकास बैंक समूहमा ०.२३ प्रतिशत, लघुवित्त समूहमा ०.२ प्रतिशत र लगानी समूहमा ०.११ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.४५ प्रतिशतले घट्दा वित्त समूहमा ०.३ प्रतिशत, निर्जीवन बीमा समूह र उत्पादन तथा प्रशोधन समूहमा समान ०.१८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अरुण काबेली पावरको सर्वाधिक १६ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ८ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको ५ करोड ६४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ११ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ९ लाख रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरको ३ करोड ८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ९१ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको २ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन गोर्खाज फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।