काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

दुई घन्टा खुलेको बजारमा आज १६.९३ अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक २०२२.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७५ अंकले घटेर ३९१.७६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार मुक्ति अर्याल आज २ घन्टाको कारोबारमा राम्रै भोलुम आएको बताउँछन्। ‘बजार सोचेजस्तो माथि जान सकेको छैन तर दसैँअघि नै बाउन्स आउन सक्छ’, उनले भने।

अहिले बजार निष्क्रिय अवस्थामा रहेको अर्यालको भनाइ छ।  

अर्का बजार जानकार प्रेम ओली पनि बजार साइडवेजमा चलेको बताउँछन्। ‘चुनावी महौल सुरु भएसँगै बजार चलायमान हुन सक्छ’, उनले भने, ‘लाभांशको पनि सिजन रहेकोले अहिले ट्रेड गर्नेभन्दा लगानी गर्ने समय रहेको छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ। 

यो दिन जीवन बीमा समूहमात्रै ०.३१ प्रतिशतले उकालो लागेको छ। 

आज व्यापार समूह सर्वाधिक १.८९ प्रतिशतले घटेको छ। वित्त समूह १.८७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१५ प्रतिशत, विकास बैंक समूहमा १.२९ प्रतिशत, जलविद्युत समूहमा १.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०८ प्रतिशत, अन्य समूहमा ०.४६ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१ प्रतिशत र लगानी समूहमा १.०४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ६ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ४ करोड ७४ लाख रुपैयाँ, राधी विद्युतको ४ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ९० लाख रुपैयाँ, युनिभर्सल पावरको ३ करोड ७६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ३६ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ३४ लाख रुपैयाँ, अपी पावरको ३ करोड १७ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज लाइफ इन्स्योरेन्स कर्पोरेसनका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।