काठमाण्डौ । दसैँअघिको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार बिहीबार १६.२९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८५३.७६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले बढेर ३६३.४२ को विन्दुमा पुगेको छ। हिजाको तुलनामा कारोबार रकम बढेर ६३ करोड रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आज बजार बढ्नुमा विभिन्न कारण रहेको बताउँछन्। ‘पहिलो कारण त बजार धेरै तल आएको थियो, सोही कारणले बजार बढेको हो’, उनले भनिन्। 

कारोबार घट्नुको मुख्य कारण बजारमा दसैँको प्रभाव पर्नु नै रहेको तिवारी बताउँछिन्। ‘विगतका वर्षहरुमा पनि दसैँ बिदाअघि केही दिन बजार बढ्ने गरेको थियो’, उनले भनिन्, ‘अहिले पनि त्यही भएको हो।’

आज सूचक र कारोबार बढ्नुलाई सकारात्मक मान्नुपर्ने तिवारीको भनाइ छ। 

बजार जानकार प्रकाश रजौरे पनि बजार धेरै तल आएका कारण बजार बढेको बताउँछन्। ‘मनोवैज्ञानिक रुपमा पनि बजार डबल बटम बनाएर फर्किएको देखिन्छ’, उनले भने। 

चाडपर्वका बेला रेमिट्यान्स बढ्दै जाँदा तरलता पनि बढ्दै जानु र चुनाव पनि आउँदै गरेको आगामी दिनमा बजार सकारात्मक नै रहने रजौरेको अनुमान छ। ‘अर्थमन्त्रीले पनि ब्याजदरका विषयमा बोलेकाले आगामी दिनमा बजार सकारात्मक नै हुन सक्छ’, उनले भने। 
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक १.६५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह १.४३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.०३ प्रतिशत, व्यापार समूहमा ०.०८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८८ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, वित्त समूहमा ०.८८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२४ प्रतिशत, अन्य समूहमा ०.२३ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूहमात्रै ०.०६ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १७ लाख ९१ हजार ४८० कित्ता सेयर ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक ४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको २ करोड ६२ लाख रुपैयाँ, रिडी पावरको २ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १ करोड २६ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड १६ लाख रुपैयाँ र सामलिंग पावरको १ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन आज अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

आज सामलिंग पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।