काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ। 

आज बजारमा १.३८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.१४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०९ अंकले बढेर ३६३.०५ को विन्दुमा पुगेको छ। कारोबार रकम ५० करोड रुपैयाँ बढीको भएको छ। 

अन्तर्राष्ट्रिय बजार जानकार मुक्ति अर्याल बजारलाई चाडपर्वले प्रभाव बताउँछन्। ‘बजार स्थिर हुनुमा बिक्रीकर्ता नभएको देखिन्छ’, उनले भने। 

तिहारअघिसम्म बजार यसरी नै चल्ने सम्भावना रहेको अर्याल बताउँछन्। ‘बजार माथि नै जान ब्याजदर घट्नैपर्छ’, उनले भने, ‘अहिले ब्याजदर नघटेकोले बजार चाल सुस्त भएको हो।’

लाभांश घोषणा भइरहँदा पनि बजारमा खासै प्रभाव नपरेको अर्यालको भनाइ छ। ‘त्यसैले लगानीकर्ता पनि पर्ख र हेरको रणनीतिमा छन्’, उनले भने।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

आज व्यापार समूह सर्वाधिक ०.६९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.२५ प्रतिशतले बढ्दा लगानी समूहमा ०.१७ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ०.५३ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२४ प्रतिशत, वित्त समूहमा ०.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०२ प्रतिशत, अन्य समूहमा ०.०६ प्रतिशत, जीवन बीमा समूहमा ०.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र लघुवित्त समूहमा ०.०७ अंकको गिरावट आएको छ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन २२१ कम्पनीका १५ लाख ४६ हजार ८५७ कित्ता सेयर ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँमा किनबेच भएका छन्। 

आज अभियान लघुवित्तको सर्वाधिक ३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गरिमा विकास बैंकको २ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एभरेस्ट बैंकको २ करोड ४९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ३३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २० लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ९ लाख रुपैयाँ, रिडी पावरको १ करोड ४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १ करोड ३ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सयपत्री हाइड्रोपावरका सेयरधनीहरुले मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारी ओरालो लागेको छ।