काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ।

आज बजार २.१६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६३.२२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकले बढेर ३८४.८३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम डेढ अर्ब बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘अब ब्याजदर बढ्ने सम्भावना छैन, तरलता पनि सहज हुँदै गएको छ, लाभांश पनि धमाधम घोषणा भइरहेका छन्’, उनले भने, ‘त्यसैले बजारले विस्तारै गति लिँदै जाने सम्भावना छ।’

लगानीकर्ताले अहिले मुलुकको राजनीति परिदृश्यलाई विशेष चासो दिएकोले पनि बजार स्थिर बनेको लम्सालको भनाइ छ। ‘मेरो विचारमा सरकार जुन पार्टीको नेतृत्वमा गठन भए पनि बजारलाई नकारात्मक प्रभाव पार्दैन’, उनले भने। 

बजार जानकार महेश रिजाल लगानीकर्ताहरु नयाँ सरकारको प्रतीक्षामा रहेकोले पनि बजारमा ठूलो घट्बढ हुन नसकेको बताउँछन्। ‘बजारमा अझै स्मार्ट मनी भित्रिइसकेको छैन’, उनले भने। 

प्राविधिक रुपमा पनि बजारले १९९० प्रतिरोध तोड्न नसकेको देखिन्छ। ‘यदि यो प्रतिरोध तोडेमा भने बजार माथि नै जाने सम्भावना छ’, उनले भने। 

पुसदेखि ब्याजदर पनि घट्ने सम्भावना रहेकोले अब बजार सम्हालिन सक्ने रिजालको अनुमान छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक १.९८ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.६५ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.२० प्रतिशत, लगानी समूहमा ०.७८ प्रतिशत, लघुवित्त समूहमा ०.३७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा ०.७४ प्रतिशत र व्यापार समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज बैंकिङ समूहमा सर्वाधिक ०.६८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.६१ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत र विकास बैंक समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु 

आज नेप्सेमा सूचीकृतमध्ये २४३ वटा कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भएको आज फर्स्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ७० लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ९० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४ करोड ६२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८० लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ७२ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ कोड ४३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ३ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज धौलागिरी लघुवित्तका सेयरधनीहरुले कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।