काठमाण्डौ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार झिनो करेक्सन आएको छ। 

बजारमा आज ३.०३ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २०६१.०६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ ०.३९ अंकले घटेर ३९४.६२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार केही दिनदेखि २०८० मा प्रतिरोधको सामना गरिरहेको बताउँछिन्। ‘आज पनि त्यहीँबाट बजारमा करेक्सन भएको छ, जुन स्वाभाविक हो’, उनले भनिन्, ‘यसले बजारले शक्ति सञ्चय गरेको भनेर बुझ्न सकिन्छ।’

अहिले बजारमा लामो समयदेखि निष्क्रिय भएका लगानीकर्ता पनि सक्रिय हुन थालेको तिवारी बताउँछिन्। ‘बजार अब धेरै बढ्ने र थोरै घट्ने देखिन्छ’, उनले भनिन्, ‘सबै कुरा सहज हुँदै गएकोले बजारले लय समातेको बुझ्न सकिन्छ।’

बजार जानकार गोविन्दप्रसाद घिमिरे केही दिनदेखि बढेको बजारमा करेक्सन आएको बताउँछन्। ‘आज नाफा बुक भएको हुन सक्छ’, उनले भने।

लगानीकर्ताको मनोबल बढ्दै गएको उल्लेख गर्दै घिमिरेले बजार थप बढ्नका लागि नीतिगत व्यवस्थामै परिमार्जन हुनुपर्ने बताए। ‘बजार माथि जाने अब ब्याजदर पनि घट्नुपर्छ’, उनले भने। 

आज नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक २.८९ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २.६० प्रतिशतले बढ्दा लघुवित्त समूहमा २.४४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशतको बढोत्तरी भएकोछ। 

आज अन्य समूह सर्वाधिक १.७३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.२२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२४ प्रतिशत, विकास बैंक समूहमा ०.५३ प्रतिशत, जलविद्युत समूहमा ०.२८ प्रतिशत, लगानी समूहमा ०.५६ प्रतिशत, जीवन बीमा समूहमा १.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६१ प्रतिशत र ०.२६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ८२ लाख २२ हजार ८३३ कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सार्वधिक ४३ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ९ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ९८ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ९० लाख रुपैयाँ, रिडी पावरको ६ करोड ४७ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ५ करोड ८४ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको ५ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। श्वेत–गंगा हाइड्रोपावर र धौलागिरी लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन विन नेपाल लघुवित्त र बोटलर्स नेपाल (तराई)का सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।