काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज ३२.७२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१८२.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८१ अंकले बढेर ४१६.०६ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी सरकारले पूर्ण पाएकोले बजारमा हरियाली छाएको बताउँछिन्। ‘आज मन्त्रिमण्डलले पूर्ण पाएको छ’, उनले भनिन्, ‘बजारमा लगानीकर्ताबीच अन्यौलता थियो, अब सरकारले स्थायित्व पाउनेमा लगानीकर्ता ढुक्का भएको हुन सक्छ।’

माघमा ब्याज पनि घटेकोले बजार बढ्नलाई सपोर्ट भएको तिवारी बताउँछिन्।

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला पनि सरकारले पूर्ण पाएका कारण आज बजार बढेको बताउँछन्। ‘मन्त्रीहरुमा नयाँ र युवा व्यक्ति पनि आएकोले लगानीकर्ताहरु आशावादी देखिन्छन्’, उनले भने। 

ब्याजदर घटेकोले अब मार्जिन लेन्डिङको ब्याजदर पनि घट्नुपर्ने बास्तोलाको भनाइ छ। ‘यसमा सरकारले भूमिका खेल्नुपर्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ५.१२ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.०३ प्रतिशतले बढ्दा विकास बैंक समूहमा २.६६ प्रतिशत, वित्त समूहमा ३.६० प्रतिशत, लगानी समूहमा ३.०७ प्रतिशत, जीवन बीमा समूहमा १.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०५ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२४ प्रतिशत, अन्य समूहमा २.८५ प्रतिशत र व्यापार समूहमा ०.२४ प्रतिशतको बढोत्तरी भएको छ। 

आज बैंकिङ समूह ०.२९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५० कम्पनीका १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अपी पावरको २३ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपर तामाकोशीको ११ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुप पावरको १० करोड ४८ लाख रुपैयाँ, रिडी पावरको ९ कराड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड १७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ४ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ७८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ६५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ९८ लाख रुपैयाँ र एचआईडीसीएलको ६ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिक सर्कि लागेको छ। ग्रीन भेन्चर, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा बाराही हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालयन पावर पाटर्नर र बलेफी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन सामुदायिक लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।