काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ।
बजार आज ५.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१७८.८१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१५ अंकले बढेर ४१५.०५ को विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट हिजो र आज नाफा बुक भएको बताउँछन्। ‘त्यही कारणले बजार माथि जान नसकेको हो’, उनले भने।
आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि आउन सक्ने बिष्ट बताउँछन्। ‘ब्याजदर घट्ने र तरलता सहज बनाउने खालका नीति समीक्षामार्फत आउन सक्छ’, उनले भने।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे बजारले शक्ति सञ्चय गरेको बताउँछन्। ‘अघिल्लो साता साढे ७ अर्बको कारोबार हुँदा नाफा बुक भएको देखिन्छ’, उनले भने, ‘नाफा बुक गर्नेहरुले करेक्सन कुरेर बसेको पनि देखिन्छ। यही कारणले कारोबार घटेको हो।’
केही समयपछि बजारले फेरि माथिकै यात्रा तय गर्ने घिमिरेको भनाइ छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
आज व्यापार समूह सर्वाधिक २.५६ प्रतिशतले उकालो लागेको छ। लगानी समूह १.७८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६६ प्रतिशत जलविद्युत समूहमा १.०३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२१ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.०९ प्रतिशतले ओरालो लागेकोछ। अन्य समूह ०.८८ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.१४ प्रतिशत, वित्त समूहमा ०.४६ प्रतिशत, जीवन बीमा समूहमा ०.३० प्रतिशत, उत्पादन तथा प्रशासन समूहमा ०.४९ प्रतिशत र लघुवित्त समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४६ कम्पनीका ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३३० रुपैयाँमा किनेबच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक १८ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको १२ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज पिपुल्स हाइड्रोपावरको १० करोड ४० लाख रुपैयाँ, अपी पावरको ९ करोड ४५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँ, निफ्राको ८ करोड ६४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७५ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ६० लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४२ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको ६ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। आदर्श लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा मैलुङ खोलाको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
आज लक्ष्मी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago