काठमाण्डौ । लगातार दोस्रो दिन सोमबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ। 

आज बजार ४.५७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१००.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७६ अंकले बढेर ४०२.०१ को विन्दुमा पुगेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे लगानीकर्ताहरुमा राजनीतिक अन्यौलता देखिँदा बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘अर्कोतर्फ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा पनि लगानी रहेका छन्’, उनले भने, ‘यिनै कारणले बजारमा खासै ठूलो उतारचढाव हुन नसकेको हो।’ 

अहिले किन्ने समय रहेको घिमिरे बताउँछन्। ‘किनकि ब्याजदर घट्दै गएको छ’, उनले भने, ‘फागुनबाट ब्याजदर अझै घट्ने सम्भावना छ।’

राष्ट्रपतिको चयनसँगै राजनीतिक अन्यौलता हट्ने र बजार लयमा चल्ने घिमिरेको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.३८ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ०.५८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३४ प्रतिशत, जलविद्युत समूहमा ०.१४ प्रतिशत, लगानी समूहमा ०.२७ प्रतिशत, लघुवित्त समूहमा ०.१३ प्रतिशत र अन्य समूहमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सर्वाधिक ०.८२ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.५० प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.२० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशत र व्यापार समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनिभर्सल पावरको ५ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख रुपैयाँ, आशा लघुवित्तको संस्थापक सेयरको ४ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ७० लाख रुपैयाँ, चिलिमे जलविद्युतको ३ करोड ५३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ३७ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड ९७ लाख रुपैयाँ र अपर तामाकोशीको २ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज पनि आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन बाराही हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।