काठमाण्डौ । सेयर बजारमा मंगलबार झिनो सुधार आएको छ।
बजार आज १.८५ अंकले उकालो लागेको हो। योसँगै नेप्से १९५३.०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले घटेर ३६८.३२ को विन्दुमा झरेको छ। कारोबार रकम १ अर्ब १३ करोड रुपैयाँको मात्रै भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे अमेरिकामा बैंकहरु डुबेको खबरले नेपालको सेयर बजारमा दबाब परेको बताउँछन्। ‘कर्जाको ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीले गरिरहेको आन्दोलन र लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएको समस्याले लगानीकर्ताहरुको मनोबल कमजोर हुँदै गएकोले केही दिनदेखि बजारमा बिक्री चाप परेको थियो’, उनले भने, ‘आज बजार सम्हालिन खोजेकोजस्तै देखिन्छ।’
अर्थतन्त्रलाई मजबुत बनाउन सरकार तथा नियामकबाट कुनै सम्बोधन नभएकोले लगानीकर्ताहरु अलमलमा रहेका कारण बजार बढ्न नसकेको घिमिरेको भनाइ छ। ‘केही दिनमा सरकारले पूर्णता पाएपछि नयाँ अर्थमन्त्री आउलान् र उनले अर्थतन्त्रबारे ब्रिफिङ गर्लान्’, उनले भने, ‘त्यसपछि मात्र बजारको लय तय होला।’
सक्रिय लगानीकर्ता निर्मल रानाभाट चैतमा लगानीकर्ताले आशा गरेअनुरुप ब्याजदर नघट्दा बजारमा खरिद चाप नआएको बताउँछन्। ‘पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्याले लगानीकर्ताहरु डराउँदा लगातार बिक्रीचाप आउँदा बजार प्रभावित बनेको छ’, उनले भने।
अर्कोतर्फ लामो समयदेखि अर्थतन्त्र हेर्ने मन्त्री नहुँदा लगानीकर्ताको मनोबल कमजोर बनेको रानाभाट बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ०.९८ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.६९ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६५ प्रतिशत, जीवन बीमा समूहमा ०.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५४ प्रतिशत र अन्य समूहमा ०.४४ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक २.३८ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, लघुवित्त समूहमा ०.३९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५५ कम्पनीका ३३ लाख १८ हजार १०८ कित्ता सेयर १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३५८ रुपैयाँमा कारोबारमा कारोबार भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक १० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार हुँदा शिवम सिमेन्टको ३ करोड १६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ६१ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको २ करोड २१ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड १४ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड १३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८ लाख रुपैयाँ र पिपुल्स हाइड्रोपावरको २ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज युनिक नेपाल लघुवित्त र शुभम पावरका सेयरधनीहरु मालमाल भए। युनिक नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा शुभम पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। सुपर मादी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज सपोर्ट माइक्रोफाइनान्स, कृषि विकास बैंक र स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी तीनैवटाको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago