काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। 

बजार आज ६.९० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२६.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५२ अंकले घटेर ३६३.२६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रेम ओली राजनीतिक निकास नहुँदा पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको बताउँछन्। ‘सरकारले पूर्णता पाएको छैन, अर्थलगायत १८–१९ वटा मन्त्रालयको जिम्मेवार प्रधानमन्त्रीको काँधमा रहेको छ’, उनले भने, ‘अर्थ मन्त्रालय सम्हाल्ने नयाँ मन्त्री आएपछि मात्रै लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ।’

बजारमा अहिले चैत महिना प्रभाव पनि रहेको ओली बताउँछन्। ‘यिनै कारण कारोबार सुस्ताएको छ’, उनले भने।

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि सरकार पूर्ण नपाउनु र अर्थमन्त्री को बन्ने भन्ने निर्क्यौल नहुँदा बजार बढ्न नसकेको बताउँछन्। ‘घर–जग्गालगायत अन्य क्षेत्रको कारोबारमा पनि मन्दी आएको छ’, उनले भने।

चैत मसान्तमा ब्याज तिर्नुपर्ने भएकोले त्यसको जोहोतिर लगानीकर्ता लाग्दा पनि बजार सुस्ताएको घिमिरे बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.८७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.२७ प्रतिशतले बढ्दा लगानी समूहमा ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.१७ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.१० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५४ प्रतिशत, विकास बैंक समूहमा ०.४३ प्रतिशत, वित्त समूहमा ०.०८ अंक, जीवन बीमा समूहमा ०.६६ प्रतिशत, लघुवित्त समूहमा १.०५ प्रतिशत र अन्य समूहमा ०.३७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ४ करोड ५ लाख रुपैयाँबराबरको कारोबार हुँदा एनआईसी एसिया बैंकको ४ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ९ लाख रुपैयाँ, शुभम पावरको २ करोड ७० लाख रुपैयाँ, सिद्धार्थ बैंकको १ करोड ७५ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँ, अपी पावरको १ करोड ६५ लाख रुपैयाँ र ङादी ग्र्रुप पावरको १ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम पावरका सेयरधनीहरु मालामाल भएका छन्। यी सबै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन श्रृजनशील लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।