काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।
बजार २२.६५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९४९.०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९७ अंकले बढेर ३६६.२३ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार राजनीतिक स्थिरताको संकेतले बजार बढेको बताउँछन्। ‘पाँचवर्षे राजनीतिक चक्रमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीजस्ता पदको टुंगो लागिसकेको छ, आज प्रधानमन्त्रीले पनि विश्वासको मत पाउने लगभग पक्का देखिएको छ’, उनले भने, ‘यिनै कारणले आज बजार सकारात्मक बनेको हो।’
अब अर्थमन्त्री को बन्छ र गभर्नरसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने कुराले नै बजारको आगामी यात्रा तय गर्ने रौनियारको भनाइ छ। ‘अब आउने कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनले पनि बजारको लय निर्धारण गर्नेछ’, उनले भने।
सक्रिय लगानीकर्ता दिलेन्द्र पाण्डे राजनीतिक अन्यौलताका कारण धेरै दिनदेखि घटेको बजार आज प्रधानमन्त्रीले विश्वासको मत पाउने पक्का भएपछि बढेको बताउँछन्। ‘अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने लगभग निश्चित भएकोले पनि लगानीकर्ताको मनोबल बढ्दा बजार सकारात्मक बनेको हुन सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ४.६६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.२१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४५ प्रतिशत, विकास बैंक समूहमा १.७९ प्रतिशत, वित्त समूहमा १.६१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २ प्रतिशत, लगानी समूहमा १.७५ प्रतिशत, जीवन बीमा समूहमा ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा ०.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत र अन्य समूहमा २.०४ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५८ कम्पनीका ५२ लाख ५५ हजार ८६ कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ६ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिटिजन्स बैंकको संस्थापक सेयरको ५ करोड ८५ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड १३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४२ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड १५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड रुपैयाँ, अपी पावरको २ करोड ८५ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज युनिक नेपाल लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago