काठमाण्डौ । सेयर बजार आज झिनो अंकले उकालो लागेको छ। 

बजार आज २.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८८.३२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ अंकले बढेर ३५९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ४ महिनायताकै न्यून स्तरमा भएको छ। 

बजार जानकार केशव कोइराला (काका) नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि पैसाको जोहो गर्न सेयर बिक्री गर्दा बजारमा दबाब सिर्जना भएको बताउँछन्। ‘बजारमा दबाब पर्दा साना लगानीकर्ता पनि डराएका छन्, त्यसैले उनीहरुले सेयर बेचेका छन्’, उनले भने। 

बजार अझै तल जाने सम्भावना नरहेको कोइराला बताउँछन्। ‘किनकि बजार न्यून विन्दुमा आइसकेको छ, अर्थतन्त्रका सूचकहरु पनि सकारात्मक हुँदै गएका छन्’, उनले भने, ‘त्यसैले धेरै आत्तिनुपर्ने अवस्था छैन।’

सरकारले सेयर धितो कर्जामा १२ करोड रुपैयाँको क्याप र १५० को जोखिममा परिमार्जन गर्ने सम्भावना देखेर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बजार साइडवेजमा चलिरहेको कोइराला बताउँछन्। ‘यिनै कारणले कारोबार पनि सुस्ताएको हो’, उनले भने। 

आज बजार नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.१९ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ०.८८ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.७२ प्रतिशत, वित्त समूहमा ०.४५ प्रतिशत, जलविद्युत समूहमा ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६० प्रतिशत, लघुवित्त समूहमा ०.१२ प्रतिशत, अन्य समूहमा ०.३२ प्रतिशत र व्यापार समूह ०.२१ प्रतिशतले उकालो लागेको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.८५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०१ प्रतिशत र लगानी समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका २२ लाख ६० हजार ८२३ कित्ता सेयर ७५ करोड १३ लाख ३० हजार ३९४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन कालिञ्चोक दर्शनको सर्वाधिक ८ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २ करोड १५ लाख रुपैयाँ, एनआईसी एसियाको बैंकको १ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६८ लाख रुपैयाँ, तारागाउँ रिजेन्स होटेलको १ करोड ५९ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको १ करोड ४२ लाख रुपैयाँ, सूर्यज्योति लाइफको १ करोड ३५ लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ करोड ३४ लाख रुपैयाँ र एभरेस्ट बैंकको १ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन पिपुल्स पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ। 

आज कालिञ्चोक दर्शनका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको नेगेटिभ सर्किट लागेको छ।