काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। 

बजार आज २.२७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८८९.७३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा आर्लेको छ। कारोबार पौने १ अर्ब रुपैयाँभन्दा कमको भएको छ। जुन ४ महिनायताकै न्यून हो। 

बजार जानकार वीरेन्द्र बिष्ट अहिले बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘सरकारले मनोबल बढाउने खालका नीति ल्याउने आशामा लगानीकर्ता बसेको देखिन्छ’, उनले भने।

अब आउने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अर्थतन्त्रलाई पूर्ण रुपमा चलायमान बनाउने र सेयर बजारलाई सकारात्मक बनाउने केही न केही नीति आउनेमा लगानीकर्ता ढुक्क रहेको बिष्टको भनाइ छ। ‘बजार न्यून विन्दुमा रहेका कारणले अब धेरै तल जाँदैन तर विस्तारै माथि नै जान्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.८३ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह पनि ०.२४ प्रतिशतले बढेको छ। 

आज उत्पादन तथा प्रशोधन सर्वाधिक १.२८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.७० प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.१६ प्रतिशत, वित्त समूहमा ०.५७ प्रतिशत, जलविद्युत समूहमा ०.२५ प्रतिशत, लगानी समूहमा ०.०९ प्रतिशत, जीवन बीमा समूहमा ०.१४ प्रतिशत, लघुवित्त समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशत र व्यापार समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका २१ लाख ७४ हजार ९१४ कित्ता सेयर ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन एभरेस्ट बैंकको सर्वाधिक ३ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ३ करोड १ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ करोड ९८ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड ९३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ६० लाख रुपैयाँ, सोल्टी होटेलको १ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ३९ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको १ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज तेह्रथुम पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।