काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ। 

बजार आज ३.३४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८३८.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंकले घटेर ३५३.०९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा ६० करोड रुपैयाँभन्दा कमको भएको छ। 

बजार जानकार सूर्यनारायण पौडेल अन्तर्राष्ट्रियस्तरमा बढेको मन्दीको त्रास र अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको खबरले पनि नेपालको सेयर बजार प्रभावित भएको हुन सक्ने बताउँछन्। ‘नेपाल पनि ६० वर्षयताकै खराब आर्थिक अवस्थामा रहेको भन्ने खबरहरु आइरहेका छन्’, उनले भने, ‘त्यसैले केही सचेत लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका हुन सक्छन्।’

केही सकारात्मक खबर पनि आइरहेको पौडेल बताउँछन्। ‘कर्जाको ब्याजदर घट्ने खबरहरु आइरहेका छन्’, उनले भने, ‘अब मौद्रिक समीक्षामा १२ करोडको सीमा र जोखिम भार १५० प्रतिशतको सीमा परिवर्तन भएमा बजारले लय लिन सक्छ।’

अर्का बजार जानकार यज्ञ घिमिरे केही दिनदेखि बजारमा कारोबार घटेको बताउँछन्। ‘आज अन्तिम समयमा कारोबार केही बढे पनि हिजो तुलनामा भने कारोबार घटेको छ’, उनले भने। 

बैंकहरुले धितोमा राखिएको सेयर बेचेको भन्ने सुनिएको घिमिरे बताउँछन्। ‘यसले गर्दा बजारमा दबाब देखिन्छ’, उनले भने। 

लगानीकर्ता अहिले मौद्रिक समीक्षा र बजेटको प्रतीक्षामा रहेको पनि घिमिरेको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमा हरियाली छाएको छ भने १० वटा समूहमा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.४३ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.०५ प्रतिशतले बढ्दा जीवन बीमामा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक ०.६७ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.५९ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.४९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२३ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०६ अंक, लघुवित्त समूहमा ०.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३२ र अन्य समूहमा ०.३२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका २१ लाख ५ हजार ६५७ कित्ता सेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३.५२ रुपैयाँमा कारोबार भएका छन्। 

आज नेपाल टेलिकमको सर्वाधिक ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको २ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको १ करोड ८० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६२ लाख रुपैयाँ, कुमारी बैंकको संस्थापक सेयरको १ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ५७ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड २० लाख रुपैयाँ र एचआईडीसीएलको १ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आत्मनिर्भर लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन फरवार्ड माइक्रोफाइनान्स र बाराही हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।