काठमाण्डौ । सेयर बजारमा सोमबार पनि झिनो अंकले ओरालो लागेको छ।
बजार आज ३.३४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८१८.३१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले घटेर ३४९.०१ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर साढे ७२ करोड रुपैयाँको हाराहारीमा भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजारमा आर्थिक मन्दीको प्रभाव भइरहेको बताउँछन्। ‘समग्र अन्य क्षेत्रमा मन्दी आउँदा सेयर बजारमा त्यसको असर देखिएको हो’, उनले भने।
तेस्रो त्रैमासको मौद्रिक समीक्षामा पनि बजारलाई सकारात्मक बनाउने कुनै पनि नीतिगत व्यवस्था नआएकोले पनि बजार उठ्न नसकेको बास्तोला बताउँछन्। ‘जबसम्म राष्ट्र बैंकले नीतिगत व्यवस्थामा परिवर्तन गर्दैन तबसम्म बजारले गतिलो गरी माथिल्लो बाटो समाउँदैन’, उनले भने।
बजार जानकार निमानन्द कँडेल अहिले लगानीकर्ताको मनोबल खस्केको अवस्था रहेको बताउँछन्। ‘मौद्रिक समीक्षामार्फत लगानीकर्ताले उठाएका माग सम्बोधन हुने अपेक्षा थियो तर त्यो भएन’, उनले भने, ‘त्यसैले लगानीकर्ता मनोबल झनै खस्किएको छ।’
लगातार घटेको बजारमा सुधार ल्याउन नियामक निकायले कुनै पहल नगर्दा लगानीकर्ता निराश बन्न पुगेको कँडेल बताउँछन्। ‘लगानीकर्ताहरु अब नयाँ बजेटमा पर्खाइ बसेको जस्तो देखिन्छ’, उनले भने, ‘अब आउने बजेटमा सेयर बजारमा लगाइँदै आएको पुँजीगत लाभकर घटाउने, गैरआवासी नेपालीलाई पुँजीबजारमा भित्र्याउनेजस्ता व्यवस्था समेटिएमा बजारले गति लिन सक्छ’, उनले भने।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५२ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.३४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.३१ प्रतिशत र वित्त समूहमा ०.०७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.६२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४९ प्रतिशत, जलविद्युत समूहमा ०.२४ प्रतिशत, लगानी र जीवन बीमा समूहमा समान ०.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशत र व्यापार समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका २३ लाख ४१ हजार २४० कम्पनीका ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ३ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको २ करोड ४३ लाख रुपैयाँ, प्रभु बैंकको २ करोड २८ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड १९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड २ लाख रुपैयाँ, अपी पावरको १ करोड ९५ लाख रुपैयाँ, हिमालय डिस्टिलरीको १ करोड ८८ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ७७ लाख रुपैयाँ र लक्ष्मी बैंकको १ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन आत्मनिर्भर लघुवित्त र राप्ती हाइड्रोका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेका छ।
आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19