काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ। 

बजार आज ५.८८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८३.२० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ३५८.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँ माथि भएको छ। 

बजार जानकार महेश रिजाल आज बजारमा नाफा बुक भएको बताउँछन्। ‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई सम्बोधन गरिएको छ, त्यसैले बजेटमा केही न केही आउने आशा गर्न सकिन्छ’, उनले भने। 

असार मसान्तसम्म बजारमा पैसा फलाफाल नहुने भएकोले बजार धेरै बढ्न नसकेको रिजाल बताउँछन्। ‘तर, बजार १८०० भन्दा तल जाँदैन’, उनले भने।

लगानीकर्ताले अहिले स्टक रोटेसन गरिरहेको रिजालको भनाइ छ। 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि आज बजारमा नाफा बुक भएको बताउँछन्। ‘बजार अझै १–२ दिन यो अवस्था रहन सक्छ’, उनले भने। 

बजेट आउने मिति पनि नजिकिएको र बजार पस्ने सिजन पनि भएकोले अब बजार धेरै तल नजाने घिमिरेको भनाइ छ। ‘अहिले नै ठूलो बुल आइहाल्ने अवस्था पनि छैन’, उनले भने, ‘किनकि १२ करोड सीमा नहटेसम्म र जोखिम भार नघटेसम्म बजारमा ठूलो बुल आउँदैन। कर्जाको ब्याजदर घटेकोले अब बजार धेरै तल पनि जाँदैन।’

आज नेप्से उपसमूहमा रहेको १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २.८० प्रतिशतले बढेको छ। होटेल तथा पर्यटन समूह २.६४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०५ प्रतिशत, लगानी समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.४० प्रतिशत, लघुवित्त समूहमा ०.५८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१६ प्रतिशत, अन्य समूहमा ०.३२ प्रतिशत र व्यापार समूहमा २.०९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.२८ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.२२ प्रतिशत र वित्त समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१.५३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ६ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको आज तारागाउँ रिजेन्सी होटेलको ४ करोड १ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ७० लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ६४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ४५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड २२ लाख रुपैयाँ, अपी पावरको ३ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ९१ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन दुईवटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनीको सेयरभाउमा १० प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

आज आदर्श लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ७ प्रतिशतको हाराहारीको गिरावट आएको छ।