काठमाण्डौ । लगातार दुई दिन भारी अंकले ओरालो लागेको सेयर बजारमा बिहीबार दोहोरो अंकको सुधार आएको छ। 

बजार आज १६.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६६.३४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ३५५.६२ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार निमानन्द कँडेल बजारमा घटेर बटम लागेको हुनाले आज बढेको बताउँछन्। ‘बजारमा अहिले करको विषयमा अन्यौलता देखिएको छ’, उनले भने, ‘परिपत्र नआउँदासम्म स्पष्ट रुपमा केही भन्न सकिने अवस्था छैन।’

यदि करको नीति पुरानै हो भने फेरि बजारले माथिको यात्रा तय गर्ने कँडेलको भनाइ छ।

अर्का बजार जानकार यज्ञ घिमिरे बेच्नेहरु पछि हट्दा आज बजार बढेको बताउँछन्। ‘करको अन्यौलताले नै बजार घटेको थियो’, उनले भने, ‘केही दिनमै करको विषयमा स्पष्ट भएपछि बजारको बाटो निर्धारण होला।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.९३ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.४९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५८ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा १.३९ प्रतिशत, लगानी समूहमा १.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१७ प्रतिशत, लघुवित्त समूहमा ०.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत, अन्य समूहमा ०.३० प्रतिशत र व्यापार समूहमा ०.४४ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७२ कम्पनीका ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक २३ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ११ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ३ करोड १३ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३ करोड ११ लाख रुपैयाँ, सोल्टी होटेलको ३ करोड ८ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ९० लाख रुपैयाँ र निफ्राको २ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

आज आत्मनिर्भर लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।