काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ। 

बजार आज ४०.४८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक १९८०.०९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ६.१० अंकले बढेर ३७०.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ। 

बजारले गति लिन थालेसँगै ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति र उत्साह बढेको देखिन्छ।

बजार जानकार महेश रिजाल आज बजार इन्ट्राडे करेक्सन हुँदै अगाडि बढेको बताउँछन्। ‘१९८० मा प्रतिरोध देखिएको थियो’, उनले भने, ‘बजार यो प्रतिरोधलाई ब्रेकर गरेर २१५३ भन्दा माथि जान सक्छ।’

आज एउटा फाइनान्स कम्पनीले लाभांश घोषणा गर्दा समग्र फाइनान्स सेक्टरमा चमक आएको पनि रिजाल बताउँछन्। 

अब कर्जाको ब्याजदर पनि घट्दै जाँदा बजार बढ्दै जाने रिजालको तर्क छ। ‘सानोतिनो करेक्सन हुँदै बजार माथि नै जाने देखिन्छ’, उनले भने, ‘असार मसान्तको प्रभाव सामान्यमात्र पर्नेछ।’

अर्का बजार जानकार निमानन्द कँडेल २–३ वटा कारणले बजार बढेको बताउँछन्। ‘करमा देखिएको द्विविधा अन्त्य हुनु र तरलता सहज हुँदै जानुले लगानीकर्ताको मनोबल बढेको छ’, उनले भने, ‘नयाँ ब्रोकर कम्पनी आउँदा गर्दा र नागरिक स्टक डिलरले पनि ब्रोकरेज सेवा सुरु गर्दा बजारले गति लिएको हुन सक्छ।’

असार मसान्तको प्रभाव बजारमा त्यति ठूलो नपर्ने पनि कँडेलको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ५.७२ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ५.११ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा ४.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२७ प्रतिशत, जलविद्युत समूहमा २.२७ प्रतिशत, जीवन बीमा समूहमा १.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.५३ प्रतिशत, लघुवित्त समूहमा २.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६१ प्रतिशत, अन्य समूहमा २ प्रतिशत र व्यापार समूहमा ३.८८ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका ९५ लाख २८ हजार २५५ कित्ता सेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६४ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १० करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६८ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड १२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ, सानिमा बैंकको संस्थापक सेयरको ७ करोड ३९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड २४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ५ लाख रुपैयाँ, सोल्टी होटेलको ७ करोड ३ लाख रुपैयाँ र साल्ट ट्रेडिङको ६ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुईवटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। भूगोल इनर्जीको सेयरभाउमा १० प्रतिशत तथा सिटी होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 

यो दिन मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ साढे २ प्रतिशत बढीले ओरालो लागेको छ।