काठमाण्डौ । सेयर बजार सोमबार पनि सामान्य अंकले उकालो लागेको छ। 

बजार आज ७.७९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८७.८७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ३७३.३५ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार विस्तारै लयमा फर्किरहेको बताउँछन्। ‘बजारमा अब सेयर धितो कर्जा पनि आउँछ’, उनले भने, ‘बैंकको आधार दर घटेको छ। त्यसैले सेयर धितो कर्जा दिन बैंकहरुले बोलाउन थालेका छन्।’

पुरानो कर्जाको असुली गर्दा पनि बैंकहरुमा पैसा आउने ढकाल बताउँछन्। ‘स्टक डिलरलगायत संस्थागत लगानीकर्ता पनि बजार पस्न थालेका छन्’, उनले भने, ‘यिनै कारणले बजारले अप ट्रेन्ड लिन थालेको हो।’

बजार जानकार दामोदर गजुरेल बजार अहिले सेक्टर रोटेसन हुँदै चलिरहेको बताउँछन्। ‘बजारमा अहिले होटेल, उत्पादन र व्यापार समूहका कम्पनीहरु चलिरहेका छन्’, उनले भने, ‘बजार अब २१०० सम्म सहज ढंगले पुग्ने देखिन्छ।’

संस्थागत लगानीकर्ता पनि बजार पस्न थालेको गजुरेल बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार सकारात्मक नै देखिन्छ’, उनले भने, ‘किनकि हिजो बनेको सुपर ट्रेन्डमा बाई सिंग्लन आज भ्यालिड भएको छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १०.७८ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.०५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.५० प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्डमा ०.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक १५ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १० करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ८४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५ करोड ८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ करोड ४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीहरुको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशत तथा भूगोल इनर्जी, सिटी होटेल र चन्द्रागिरी हिल्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 

यो दिन सगरमाथा जलविद्युत, युनाइटेड इदी मर्दी, सुपर माई हाइड्रोपावर र समता घरेलु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी सबैको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।