काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २६.५६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०६४.८३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले घटेर ३८८.०२ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम घटेर पौने ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल धेरै दिन बढेको बजारमा आज नाफा बुक भएको बताउँछन्। ‘२१०० माथि बजारमा करेक्सन आउँछ भन्ने धेरैलाई थाहा थियो’, उनले भने, ‘त्यसैले आज बजारमा बिक्री दबाब परेको हो।’

असार मसान्तको प्रभाव पनि बजारमा परेको हुन सक्ने लम्साल बताउँछन्। ‘त्यसैले केही स्मार्ट लगानीकर्ताहरुले बढेको बजारमा केही स्क्रिप्टमा नाफा बुक गरेका हुन सक्छन्’, उनले भने, ‘तर, अब बजार बढ्ने नै हो।’

नयाँ ब्रोकरहरु पनि आउँदै गरेकोले बजारले गति लिन सक्ने लम्सालको भनाइ छ। ‘तरलता पनि सहज हुँदै गएकोले अब बजार माथि नै जान्छ’, उनले भने।

बजार जानकार सरोज भट्टराई पनि केही दिनदेखि बढेको बजारमा नाफा बुक हुँदा करेक्सन आएको बताउँछन्। ‘यसलाई सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘किनकि अर्थतन्त्र ट्रयाकमै छ। गभर्नरले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको बताउँदै आएका छन्।’

आगामी मौद्रिक नीति सेयर बजारका लागि महत्वपूर्ण हुने भट्टराईको भनाइ छ। ‘मौद्रिक नीति धेरै खुकुलो पनि आउँदैन र पहिलाको जस्तो कसिलो पनि नहुने हुँदा राम्रा कम्पनीमा लगानी गर्न लगानीकर्ता डराउनुपर्दैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन लगानी समूह सर्वाधिक ०.७३ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.१७ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक ३.७० प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह २.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०७ प्रतिशत, विकास बैंक समूहमा १.५२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९७ प्रतिशत, जलविद्युत समूहमा २.४६ प्रतिशत, लघुवित्त समूहमा २.१६ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.०९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३९ प्रतिशत र अन्य समूहमा २.४३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५४ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन निफ्राको सर्वाधिक २० करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ११ करोड ५७ लाख  रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४९ लाख रुपैयाँ, नागरिक लगानी कोषको ११ करोड ४० लाख रुपैयाँ, सोल्टी होटेलको १० करोड ९५ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड २० लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सिटी होटेलको सेयरभाउमा १० प्रतिशत र बिपिडब्लु लघुवित्त र ईङ्वा हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। 

आज युनिक नेपाल लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यो  लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।