काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ। 

बजार आज ४.७५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०५५.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३० अंकले घटेर ३८५.८१ को विन्दुमा झरेको छ। कारोबार रकम करिब साढे ३ अर्ब रुपैयाँको भएको छ। 

बजार जानकार यज्ञ घिमिरे सबैतिरको महौल सकारात्मक रहेकोले बजार पनि सकारात्मक रहने बताउँछन्। ‘अहिले लगानी गरेर प्रतिफल खाने समय पनि हो’, उनले भने। 

बजार अब १८०० को विन्दुमा नझर्ने घिमिरेको भनाइ छ। ‘बजार सानातिना करेक्सनका साथ माथि नै जाने मलाई विश्वास छ’, उनले भने। 

लो क्याप भएका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको घिमिरे बताउँछन्। 

अर्का बजार जानकार अर्जुन थापा अहिले बजारमा अल्पकालीन लगानीकर्ता हावी भएको बताउँछन्। ‘निर्जीवन बीमा र होटेल समूहमा लगानीकर्ताको आकर्षण देखिन्छ’, उनले भने। 

तरलता फालाफल भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट पैसा तानेको थापा बताउँछन्। ‘यसले पनि बजारका लागि सुखद् संकेत गरेको छ’, उनले भने। 

साउन लागेपछि अहिले खासै बढ्न नसकेका बैंकहरुको सेयरभाउ पनि बढ्ने थापाको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेमा १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ८.६५ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ३.२४ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा २.७७ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक १.६० प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह १.१५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५७ प्रतिशत, विकास बैंक समूहमा ०.६२ प्रतिशत, वित्त समूहमा ०.२६ प्रतिशत, लगानी समूहमा ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४२ प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत र व्यापार समूहमा ०.३१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ८० लाख ८ हजार २४६ कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक २९ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १५ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १४ करोड ७५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड २३ लाख रुपैयाँ, नागरिक लगानी कोषको १२ करोड ५४ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको १० करोड ३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ करोड ४७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६६ लाख रुपैयाँ, ओरियन्टल होटेलको ७ करोड २७ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ६ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। तारागाउँ रिजेन्स होटेल, ओरियन्टल होटेल, कालिञ्चोक दर्शन र बिपिडब्लु लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा सिटी होटेल र हिमालयन लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। सोल्टी होटेलको भाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज ईङ्वा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। नेष्डो समृद्ध लघुवित्तको सेयरभाउमा ७ प्रतिशत बढीले ओरालो लागेको छ।