काठमाण्डौ । साताको पहिलो काराबोर दिन आइतबार सेयर बजारमा भारी अंकको बढोत्तरीका साथ हरियाली छाएको छ। 

बजार आज ६२.२१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २११७.७३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.६४ अंकले बढेर ३९५.४५ को विन्दुमा पुगेको छ। कारोबार साढे ६ अर्ब रुपैयाँमा भएको छ। यो ५ महिनायताकै उच्च हो। 

बजार जानकार महेश रिजाल आजको बजार बढाइले करेक्सन सकिएको संकेत गरेको बताउँछन्। ‘म्युचुअल फन्डहरुले पनि सेयर खरिद गरेको देखिन्छ’, उनले भने। 

बजारको बढाइले बियरिस ट्रेन्ड सकिएकोजस्तो देखिएको पनि रिजाल बताउँछन्। ‘बजार छिट्टै २२०० भन्दा माथि जाने आधार बनेका छन्’, उनले भने। 

वाणिज्य बैंकहरुमा पनि मर्ज भएकाहरुको बाहेक अन्यको सेयरभाउ बढेको रिजालको भनाइ छ। 

अर्का बजार जानकार दमोदर गजुरेल बजार २१०० माथि टिक्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार बढ्नुको मुख्य कारण बजारमा अधिक तरलता हुनु नै हो’, उनले भने। 

कर्जा प्रवाह नगरे पनि सेयरमा बैंकहरुले धमाधम लगानी गरिरहेको प्रस्ट हुने पनि गजुरेलको भनाइ छ। ‘त्यही भएर इन्स्योरेन्स, होटेल र व्यापार समूहका कम्पनीहरुमा चमक देखिएको छ’, उनले भने। 

बैंकहरुले दीर्घकालीन लगानीमात्र गर्न पाउने भएकोले बजार झन बजबुत हुने गजुरेलको ठम्याइ छ। 

गजुरेलका अनुसार प्राविधिक रुपमा बजारले प्रतिरोध ब्रेक गर्दै माथि गइरहेको छ। ‘त्यसैले बजार बुलिस बनेको भन्न सकिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह सर्वाधिक ७.७९ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ६.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा ४.६५ प्रतिशत, वित्त समूहमा ५.७३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६६ प्रतिशत, जलविद्युत समूहमा १.८५ प्रतिशत, लगानी समूहमा २.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.३३ प्रतिशत, लघुवित्त समूहमा १.८३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.८३ प्रतिशत, अन्य समूहमा ५.२२ प्रतिशत र व्यापार समूहमा ५.०३ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ४९ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होेटेलको ३८ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २१ करोड ५३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड ४७ लाख रुपैयाँ, नेपाल टेलिकमको १८ करोड ४१ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७ करोड ३४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १५ करोड ३२ लाख रुपैयाँ, नागरिक लगानी कोषको १४ करोड ८६ लाख रुपैयाँ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको १३ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ इन्स्योरेन्स र सामलिङ पावरको सेयरभाउमा १० प्रतिशत तथा बिपिडब्लु लघुवित्त, सिटी होटेल, शिवम सिमेन्ट, हिमालयन ऊर्जा र नेपाल इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेका छन्। 

यो दिन शुभम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।