काठमाण्डौ । सेयर बजार मंगलबार भारी अंकले उकालो लागेको छ। लगातार तेस्रो दिन बजार बढेको हो। 

आज बजार ५६.९४ को अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २१८६.३६ को विन्दुको उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.४० अंकले बढेर ४१२.५१ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर करिब साढे ५ अर्ब रुपैयाँको छ। 

बजार जानकार मुक्ति अर्याल अहिले बजार सेक्टर परिवर्तन हुँदै चलिरहेको बताउँछन्। ‘तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर पनि घटिरहेको छ’, उनले भने, ‘बजार नकारात्मक प्रभाव पार्न नराम्रा खबर केही पनि छैन। त्यसैले मौद्रिक नीति पनि नराम्रो आउने देखिँदैन।’

यिनै कुराले लगानीकर्ताको मनोबल बढ्दा बजारको बाउन्स ब्याक भएको अर्याल बताउँछन्। ‘बजार बढ्दा भोलुम बढ्नु स्वाभाविक हो’, उनले भने। 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे सेयर लोनमा ब्याजदर करिब २ प्रतिशतले घटेको बताउँछन्। ‘साउनबाट कर्जाको ब्याजदर अझै घट्न सक्छ’, उनले भने, ‘त्यसैले ब्याजदर घट्दै जाँदा बजार बढ्दै गएको हो।’

बजारमा सेक्टर रोटेसन पनि भइरहेको घिमिरेको भनाइ छ। ‘आज लघुवित्त र वित्त समूहमा चमक आएको छ’, उनले भने, ‘विस्तार नचलेका सेक्टर पनि चल्ने र बजार २२०० माथि टिक्ने सम्भावना छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ८.९६ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.४४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ३.९३ प्रतिशत, विकास बैंक समूहमा १.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०५ प्रतिशत, जलविद्युत समूहमा १.५६ प्रतिशत, लगानी समूहमा ०.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६३ प्रतिशत र अन्य समूहमा १.९६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक ०.६६ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.१७ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका १ करो ३१ लाख ७ हजार ८० कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन स्वावलम्बन लघुवित्तको सर्वाधिक २५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २२ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको २२ करोड ४२ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ४८ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ६ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको १० करोड ९० लाख रुपैयाँ, सिटी होटेलको ९ करोड २३ लाख रुपैयाँ, नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको ७ करोड ५९ लाख रुपैयाँ बढीको भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज ३९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ भने ४ वटा कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन २५ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशत तथा १४ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन सिक्लेस हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।