काठमाण्डौ । लगातार ३ दिन घटेको सेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। 

बजार आज १२.७३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०८८.७० को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.२८ अंकले बढेर ३८८.६२ को विन्दुमा उक्लएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार सूर्यनारायण पौडेल आज बजार बढ्नुले नाफा बुक सकिएको संकेत गरेको बताउँछन्। ‘आज कारोबार पनि घटेको छ’, उनले भने, ‘यसले बेच्नेहरु पछि हटेको र सेयर एकुमुलेसन भइरहेको बुझिन्छ।’

बैंकहरुमा पर्याप्त तरलता रहेको र बैंकहरुले कर्जाको ब्याजदर घटेको म्यासेजहरु पठाइरहेको पनि पौडेल बताउँछन्। ‘यस हिसाबले सबैतिर पोजिटिभ माहौल बनिरहेको बुझ्न सकिन्छ’, उनले भने। 

सेयर बजारमा धैर्य गर्ने पछुताउनु नपर्ने पनि पौडेलको बताउँछन्। ‘मौद्रिक नीति पनि खासै नकारात्मक नआउने देखिन्छ’, उनले भने। 

अर्का बजार जानकार अर्जुन थापा असार मसान्तको प्रभावका कारण केही दिन बजार घटेको र आज बढेको बताउँछन्। ‘अझै असार २५ गतेसम्म बजार साइडवेजमै चल्न सक्छ’, उनले भने।

साउनबाट भने बजारले गति लिन सक्ने थापाको भनाइ छ। ‘किनकि साउनबाट कर्जाको ब्याजदर घट्ने र बजारमा नयाँ लोनको पैसा पनि आउनेछ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.३६ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.९२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, विकास बैंक समूहमा ०.८३ प्रतिशत, जलविद्युत समूहमा ०.१३ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १.६२ प्रतिशत र व्यापार समूहमा ०.६१ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता सेयर २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८.५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नागरिक लगानी कोषको सर्वाधिक १२ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्टको ११ करोड १६ लाख रुपैयाँ, सोल्टी होटेलको ७ करोड ३२ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ करोड १५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ६८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ५४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ५ करोड ८ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिटी होटेलका सेयरधनीहरु मालामाल भए। यो होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन बिपिडब्लु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।