काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि सामान्य अंकले घटेको छ।

बजार आज ४.७३ अंकले घटेको हो। योसँगै २०७२.२४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ अंकले बढेर ३८८.८६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि हिजोको तुलनामा पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आजबाट मसान्तको प्रभाव सकिएकोले बजारमा करेक्सन पनि सकिएको बताउँछन्। ‘अब बजारले विस्तारै स्थायित्व लिन्छ किनकि तरलता पनि बढेको छ’, उनले भने, ‘बजारमा सेयर लोनमा आइरहेको छ। केही बैंकहरुले मागेको ३ कार्यदिनमै सेयर लोन दिइरहेका छन्।’ 

आज कारोबार घट्नुले लगानीकर्ताहरुले घटेर बच्न नचाहेको जस्तो देखिने पनि बिष्टको भनाइ छ। बजारमा महौल बनेपछि वाणिज्य बैंक र जलविद्युत कम्पनीहरु पनि चम्कने उनले बताए। 

बजार जानकार विष्णु भुसाल असार मसान्तको प्रभाव लगभग सकिएको बताउँछन्। ‘तरलता सहज हुँदै गएको र अन्य ठाउँमा लगानीको अवसर नभएका कारण बजारले माथि यात्रा नै तय गर्ने देखिन्छ’, उनले भने। 

प्राविधिक रुपमा २२०० माथि गएपछि बजारले अप ट्रेन्ड लिने भुसालको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक ३.४२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.९९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.३६ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.१९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२३ प्रतिशत, लगानी समूहमा ०.५४ प्रतिशत, जीवन बीमा समूहमा ०.६८ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३२ प्रतिशत, अन्य समूहमा ०.५४ प्रतिशत र व्यापार समूहमा ०.७२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८३ कम्पनीका ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको १० करोड ६७ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ करोड ६१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ६ करोड ५६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ९२ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ करोड ६५ लाख रुपैयाँ, समृद्धि फाइनान्सको ५ करोड ५७ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड १४ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। हिमालयन पावर पार्टनरको सेयरभाउमा १० प्रतिशत तथा रावा इनर्जी र लिबर्टी इनर्जीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सिंगटी हाइड्रो र श्वेत–गंगा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।