काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ। 

बजार आज ९.२५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०८६.८४को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले बढेर ३९८.२८ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजाको तुलनामा घटेर १ अर्ब ८१ करोड रुपैयाँको भएको छ। 

बजार जानकार कविराज तिमिल्सिना आजको बढाइले बजार घट्न पुगेको मान्न सकिने बताउँछन्। ‘लगानीकर्ताको मनोबल विस्तारै सकारात्मक बनेको देखिन्छ’, उनले भने, ‘किनकि कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट पनि आउन थालिसकेका छन्। बोनसको सिजन पनि सुरु हुँदैछ।’

मौद्रिक नीतिको अन्यौता हटेको पनि तिमिल्सिना बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार आज २०६० बाट फर्केको छ’, उनले भने, ‘बुलिस ह्याम्मर प्रकृतिको प्याट्रन बनेको छ। आधा घन्टाको टाइम फ्रेममा म्याक्डीमा बुलिसक्रस देखिएको छ। यी कुराले अब बजार माथि नै जान सक्ने देखिन्छ।’

अर्का बजार जानकार निमानन्द कँडेल केही दिनदेखि किन्ने र बेच्नेबीच जुहारी चलिरहेको बताउँछन्। ‘सामाजिक सञ्जालबाट बजार प्रभावित पार्ने गतिविधि हुँदा बजारमा करेक्सन आएको हो’, उनले भने। 

नयाँ ब्रोकरहरु खरिदका लागि एग्रिसिभ नहुनु र पुराना ब्रोकरहरु पनि आफ्ना ग्राहक गुमाउन नचाहनुजस्ता कारणले पनि बजार प्रभावित भएको कँडेलको भनाइ छ। ‘केही मारवाडी समूहलाई सुनकाण्डमा जोडेर अफवाह फैलाउँदा पनि बजार प्रभावित भएको हो’, उनले भने। 

तरलता सहज हुँदै जानु र लाभांशको सिजन सुरु हुन लागेकोले अब बजार धेरै नघट्ने कँडेलको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.६९ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.४० प्रतिशतले बढ्दा बैंकिङमा ०.८१ प्रतिशत, विकास बैंक समूहमा १.०१ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०७ प्रतिशत, निर्जीवन बीम समूहमा ०.६० प्रतिशत र अन्य समूहमा ०.३० प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ०.२८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.२४ प्रतिशतले घट्दा व्यापार समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ११ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा बैंकको संस्थापक सेयरको ८ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९१ लाख रुपैयाँ, अपर तामाकोशीको ५ करोड ९१ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड २७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको ४ करोड ७३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ५७ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड ७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ५७ लाख रुपैयाँ र कुमारी बैंकको संस्थापक सेयरको ३ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सुपर मादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।