काठमाण्डौ । सेयर बजारमा सोमबार पनि सामान्य अंकले ओरालो लागेको छ। 

बजार आज ३.२१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४८.२६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५९ अंकले घटेर ३९०.४३ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम घटेर सवा २ अर्ब ३३ करोड रुपैयाँको मात्रै भएको छ। 

बजार जानकार सूर्यनारायण पौडेल बजारमा अल्पकालीन लगानीकर्ता हावी भएको बताउँछन्। ‘जसका कारण सेयरमा होल्डिङ भएन’, उनले भने, ‘त्यसैले बेच्ने धेरै हुँदा बजार घटेको हो।’

बजारको घटाइ प्राकृतिक नरहेको पनि पौडेलको भनाइ छ। ‘ठूला लगानीकर्ता बजार पस्न नसकेको र लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार बढ्न नसकेको हो’, उनले भने, ‘ब्याजदर घटिरहेकोले बजार केही समय साइडेवेज चलेर माथि नै जाने सम्भावना छ।’

मार्केट मेकरहरुले सस्तोमा सेयर किन्न खोज्दा पनि बजार माथि जान नसकेको पौडेलको ठम्याइ छ। 

अर्का बजार जानकार दामोदर गजुरेल पनि लगानीकर्ता अहिले पर्ख र हेरकै अवस्थामा रहेको बताउँछन्। ‘बैंकहरुको वित्तीय विवरण सन्तुलित आए पनि लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेको देखिन्छ’, उनले भने, ‘लगानीकर्तामा राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्न सक्ने डर पनि देखिन्छ।’

हकप्रद तथा प्राथमिक सेयरको सप्लाईले पनि बजार बढ्न नसकेको गजुरेलको तर्क छ। ‘तर, पनि बजार २००० भन्दा तल जाँदैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.६५ प्रतिशतले उकालो लागेको छ। विकास बैंक र होटेल तथा पर्यटन समूह समान १.४१ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०७ प्रतिशत, लघुवित्त समूहमा ०.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०७ प्रतिशत र व्यापार समूहमा ०.९५ प्रतिशतको बढोत्तरी भएको छ। 

आज बैंकिङ समूह सर्वाधिक ०.९४ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.३६ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३३ प्रतिशत र लगानी समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीका ६६ लाख ४७ हजार १४३ कित्ता सेयर २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ४३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ७ करोड ५७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ३३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको संस्थापक सेयरको ५ करोड ८२ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ७८ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ६७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ११ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज नेपाल रिपब्लिक मिडिया र गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै कमाए । यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ६ प्रतिशत बढीको गिरावट आएको छ।