काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। 

बजार आज ३.६१ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०७७.२४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ३९८.१३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम हिजोको तुलनामा घटेको छ। आज २ अर्ब रुपैयाँ बढीको मात्रै कारोबार भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आज घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बैंकहरुले बोलाई–बोलाई सेयर लोन दिन थालेका छन्’, उनले भने, ‘अर्थमन्त्रीले पनि अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँगै राष्ट्र बैंकका गभर्नर र बैंकका सीईओहरुसँग छलफल गरेका छन्।’

भदौमा ब्याजदर बढ्ने त्रासले लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा बस्दा भोलुम घटेको बिष्टको तर्क छ। ‘तर, भदौमा ब्याजदर बढ्ने सम्भावना कम छ’, उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन।’

जग्गाको कित्ताकाटमा खुलेकोले बजार विस्तारै अगाडि बढ्ने बिष्टको तर्क छ। ‘आउँदो असोज बजार २४०० सम्म पुग्न सक्ने देखिन्छ’, उनले भने। 

अर्का बजार जानकार अर्जुन थापा पनि अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। ‘बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरु विश्वस्त हुन नसकेको अवस्था छ, त्यसैले कारोबार पनि घटेको छ।’, उनले भने, ‘तर, तरलता सहज नै रहेको बजार बढ्ने हो।’

भदौमा बजार विस्तारै सम्हालिएर बढ्ने थापाको तर्क छ। ‘ब्याजदर एकल अंकमा आएपछि बजारले लय समात्ने देखिन्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६५ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह ०.५५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, विकास बैंक समूहमा ०.०२ प्रतिशत र लघुवित्त समूहमा ०.३७ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक १.५९ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.५८ प्रतिशतले घट्दा वित्त समूहमा ०.३० प्रतिशत, लगानी समूहमा ०.२४ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, अन्य समूहमा ०.६५ प्रतिशत र व्यापार समूहमा १.४१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयर २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको १० करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज घोराही सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६ करोड ५५ लाख रुपैयाँ, सानिमा बैंकको ५ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ९२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ५७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ५ करोड ५० लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५ करोड ३९ लाख रुपैयाँ र ज्योति विकास बैंकको ३ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीका सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।