काठमाण्डौ । लगातार ३ दिन घटेको सेयर बजार बिहीबार उकालो लागेको छ।
बजार आज ८.०१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०३३.१३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले बढेर ३८७.३८ को विन्दुमा पुगेको छ।
कारोबार भने हिजोको तुलनामा घटेको छ। आज साढे १ अर्ब रुपैयाँ माथिको मात्रै कारोबार भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल हिजोआज बजारमा किन्ने र बेच्नेको बार्गेनिङ चलिरहेको बताउँछन्। ‘त्यसैले बजार धेरै तल जाने र धेरै माथि जाने अवस्था देखिँदैन’, उनले भने।
ब्याजदर नघट्नु र सेयर लोन सहजै आउन नसक्दा पनि बजार साइडवेजमा चलिरहेको लम्सालको भनाइ छ। ‘सेयर दिने बैंकहरुको सीडी रेसियो टाइट छ’, उनले भने, ‘यद्यपि दसैँसम्म बजारले एउटा बाउन्स भने लिन सक्छ।’
बजार जानकार कविराज तिमिल्सिना बजार अब घट्न रोकिएको बताउँछन्। ‘बैंकहरुको ब्याजदर पनि सार्वजनिक भइसकेको छ, सामान्य बढेको छ’, उनले भने।
पछिल्लोपटक बजार २००० लाई बटम बनाएर फर्किएको र लाभांशको पनि सिजन भएकोले बजार विस्तारै सम्हालिँदै बढ्दै जाने तिमिल्सिनाको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक २.५३ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, विकास बैंक समूहमा ०.३४ प्रतिशत, वित्त समूहमा ०.७९ प्रतिशत, जलविद्युत समूहमा ०.३८ प्रतिशत, लगानी समूहमा ०.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५५ प्रतिशत र अन्य समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह ०.२३ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ४० लाख ९ हजार २६३ कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सोल्टी होटेलको सर्वाधिक १३ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आइएमई लाइफको ७ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज घोराही सिमेन्टको ५ करोड १६ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड २१ लाख रुपैयाँ, सूर्यज्योति लाइफको २ करोड ८९ लाख रुपैयाँ, हिमालयन लाइफको २ करोड ८७ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड ८४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुप्ैयाँ र एभरेस्ट बैंकको २ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन लिवर्टी इनर्जीका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज मन्छियाम हाइड्रोपावर र राप्ती हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19