काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १७.६९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०१५.९८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३६ अंकले बढेर ३८५.९८ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब ३३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। 

बजार जानकार सूर्यनारायण पौडेल धेरै दिन घटेको बजारमा अल्पकालीन बाउन्स आएको बताउँछन्। ‘यो बियरिस बजारको अन्त्य पनि हुन सक्छ’, उनले भने, ‘तर, यसले कन्फर्मेसन भने गरेको छैन। किनकि अघिल्लो दिनको क्यान्डललाई आज बनेको क्यान्डलले कभर गरेको छैन।’

पौडेलले यो बेला राम्रा र बलिया कम्पनीका सेयर उठाएर बस्दा उचित हुने सल्लाह दिए। ‘अहिले बजारमा सेयर जम्मा गर्ने बेला हो’, उनले भने, ‘किनकि यतिबेला रिस्क कम र रिवार्ड बढी छ।’

अर्का बजार जानकार निमानन्द कँडेल पनि धेरै दिन घटेको बजारमा बाउन्स आएको बताउँछन्। ‘यसले बजार स्थिर हुन खोजेको देखिन्छ’, उनले भने, ‘आज अन्तिम १० मिनेटमा राम्रो भोलुम आएको छ। बजारमा लगभग बटम लागेको जस्तो देखिन्छ।’

अहिले लाभांशको पनि सिजन भएकोले बजार धेरै नघट्ने कँडेलको भनाइ छ। ‘यद्यपि लगानीकर्ताको मनोबल बढिसकेको अवस्था भने होइन’, उनले भने, ‘अब १–२ दिनको कारोबारपछि बजारको दिशा तय हुने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.६६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३७ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, लगानी समूहमा ०.८५ प्रतिशत, जीवन बीमा समूहमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा ०.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१५ प्रतिशत, अन्य समूहमा १.४८ प्रतिशत र व्यापार समूहमा ०.५८ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन कुमारी बैंकको संस्थापक सेयरको सर्वाधिक २८ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ४ करोड ६२ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड १४ लाख रुपैयाँ, घोराही सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ, आईएमई लाइफको ३ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १४ लाख रुपैयाँ र प्रभु बैंकको २ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन लक्ष्मी लघुवित्त र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लुघवित्तको सेयरभाउमा ४ प्रतिशत बढीले ओरालो लागेको छ।