काठमाण्डौ । सेयर बजारमा बुधबार पनि झिनो अंकले ओरालो लागेको छ। 

बजार आज २.८२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९०.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१३ अंकले घटेर ३८१.७१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) ठूला लगानीकर्ता सक्रिय नहुँदा बजारले गति लिन नसकेको बताउँछन्। ‘ठूला लगानीकर्ता पसेको भए बजार माथि जान्थ्यो होला’, उनले भने, ‘तर, उनीहरु पसेका छैनन्। त्यसैले बजार साइडवेजमा चलिरहेको छ।’

बजार बढ्नलाई लगानीकर्ताको मनोबल बढ्नै पर्ने कोइरालाको भनाइ छ। ‘अहिले प्रिमियम धमाधम आईपीओ आइरहेकोले बजारबाट पैसा बाहिरिरहेको छ, नयाँ पैसा पनि बजारमा आएको छैन’, उनले भने, ‘बजारमा मागभन्दा आपूर्ति बढेको छ। त्यसैले बजार बढ्न नयाँ पैसा आउनै पर्छ।’

अहिले बजारमा किन्ने र बेच्नेबीच मोलमोलाइ चलिरहेको पनि कोइरालाको तर्क छ। ‘बेच्नेले घटेर बेच्न चाहेका छैनन्’, उनले भने, ‘किन्ने खोज्नेले पनि सस्तोमा खोजिरहेका छन्। जसका कारण बजार स्थिर बनेको छ।’

बैंकहरुले सेयर लोन दिन थालेपछि लिनेहरु अनिच्छुक देखिएको कोइराला बताएँछन्। ‘महँगो ब्याजमा ऋण लिन लगानीकर्ताहरु तयार छैनन्’, उनले भने। 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि लगानीकर्ताको मनोबल बढ्न नसक्नु र सेयरको मागभन्दा आपूर्ति बढी हुनुले बजार बढ्न नसकेको बताउँछन्। 

चालु पुँजी कर्जामा संशोधन गरेर राष्ट्र बैंक केही लचक भए पनि उद्योगी–व्यवसायी सन्तुष्ट नभएको घिमिरेको भनाइ छ। ‘उनीहरुले व्यवहारिक रुपमा झनै कडा आएको भनेका छन्’, उनले भने, ‘त्यसैले नीतिगत व्यवस्थाहरु बजारमैत्री देखिएका छैनन्।’

आज घोषणा गरिएको माछापुच्छ्रे बैंकको लाभांशमा लगानीकर्ता सन्तुष्ट नरहेको घिमिरेले बताए। ‘दुई आर्थिक वर्षको १४ प्रतिशत लाभांश धेरै होइन’, उनले भने, ‘त्यसैले आकर्षक लाभांश घोषणा नहुँदा लगानीकर्ताको मनोबल बढेन।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन र व्यापार दुवै समूह १.३० प्रतिशतले उकालो लागेका छन्। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७० प्रतिशतले ओरालो लागेको छ। लघुवित्त वित्त र अन्य समूह समान ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०६ प्रतिशत, विकास बैंक समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.२७ प्रतिशत, जलविद्युत समूहमा ०.२६ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३८ लाख ३ हजार २४४ कित्ता सेयर १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन माछापुच्छ्रे बैंकको सर्वाधिक १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। आईएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ३ करो रुपैयाँ, नेपाल टेलिकमको २ करोड ८१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ करोड ७३ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ६४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६० लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ४८ लाख रुपैयाँ र एभरेस्ट बैंकको २ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिटी होटेलका सेयरधनीहरुले सर्वाधिक कमाए। यो होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।