काठमाण्डौ । साताको धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार आएको छ। 

बजार आज ४.२६ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक १९६९.१८ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले बढेर ३७८.७३ को विन्दुमा उक्लिएको छ। आज कारोबार पौने १ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ। 

बजार जानकार अजयसिंह थापा (जयशम्भु) दसैँअगाडि बजारको एउटा स्विङ बाँकी रहेको बताउँछन्। ‘किनकिराजस्व पनि राम्रै उठेको छ र तरलता पनि पर्याप्त छ’, उनले भने, ‘हिजो आएको राष्ट्र बैंकको डाटाले पनि यसलाई पुष्टि गरेको छ।’

अहिले बैंकहरुको औसत सीडी रेसियो पनि ८३ प्रतिशतको हाराहारीमा रहेको र बैंकहरुबाट ११ प्रतिशतमै सेयर लोन पाइरहेको पनि थापाले बताए। 

आधारभूत रुपमा पनि यो एकुमुलेसनकै समय रहेको थापा बताउँछन्। ‘यसलाई प्राविधिक रुपमा इलिअट वेभमार्फत पनि पुष्टि गर्न खोजेको देखिन्छ’, उनले भने, ‘इलिअट वेभमार्फत हेर्दा बजारको सेकेन्ड वेभमा १९३० सकिएको र थर्डभित्रको वान २१५० सम्म पुग्नुपर्ने देखिन्छ।’

अर्का बजार जानकार उपेन्द्र पाठक अहिलेको बजारमा नीतिगत सुधार नै हुन आवश्यक रहेको बताउँछन्। ‘ढुकुटीमा पर्याप्त तरलता रहेको छ, सरकारले शून्य प्रतिशतमै बैंकहरुको स्थानीय तहको फन्ड चलाउन दिएको छ’, उनले भने, ‘तर, ख र ग वर्गका बैंकहरुको तुलनामा क वर्गका बैंकहरुको ब्याज उच्च भएको छ।’

अहिले कुनै पनि गुड न्युजले बजारमा काम नगर्नुको मुख्य कारण नै नीतिगत समस्या रहेको पाठकको भनाइ छ। ‘त्यसैले शक्तिमा रहेका अर्थमन्त्रीले बोलेरभन्दा पनि काम गरेर देखाउन आवश्यक छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.६० प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.०४ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.३९ प्रतिशत, वित्त समूहमा ०.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७३ प्रतिशत, लगानी समूहमा ०.१३ प्रतिशत, जीवन बीमा समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५७ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज बैंकिङ समूहमात्रै ०.४० प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड ४ लाख ४४ हजार १५७ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन रिलायबल नेपाल लाइफको सर्वाधिक ९ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ४ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसटीसीको ३ करोड ९९ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ६० लाख रुपैयाँ, आईएमई लाइफको २ करोड ४२ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ३१ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड १७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड रुपैयाँ र घोराही सिमेन्टको १ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज इमर्जी नेपाल र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन शुभम पावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट छ।