काठमाण्डौ । सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको करेक्सन आएको छ। 

बजार आज १९.४२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०१०.३५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले घटेर ३८५.६२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार महेश रिजाल आजको घटाइलाई नाफा बुकका रुपमा लिनुपर्ने बताउँछन्। ‘केही दिनदेखि बढेको बजारमा ब्रोकरको हिसाब–किताब मिलाउन सेयर बेचेको हुन सक्छ’, उनले भने, ‘दसैँअघि बजार सकारात्मक नै भएर २२०० सम्म पुग्न सक्छ।’

बैंकहरुले बोलाइ–बोलाई सेयर लोन दिइरहेको पनि रिजाल बताउँछन्। ‘स्मार्ट मनीले केही कन्फर्मेसन कुरेको हुन सक्छ’, उनले भने। 

भोलुम पनि राम्रै आएको बजारलाई सकारात्मक ढंगले नै हेर्नुपर्ने रिजालको भनाइ।

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि केही दिनदेखि बढेको बजारमा आज करेक्सन आएको बताउँछन्। ‘भोलिबाट बजार सम्हालिन सक्छ’, उनले भने। 

लगानीकर्ताले सेयर लोनमा १२ करोडको सीमा हट्ने विषयलाई निकै चासोका साथ हेरेको पनि घिमिरेको भनाइ छ। ‘यो नीतिगत परिमार्जन लम्बिएको खण्डमा भने बजारमा केही समय साइडवेजमा चल्न सक्छ’, उनले भने, ‘अब भोलि र पर्सिको बजार हेरेपछि मात्रै बजारको दिशा प्रस्ट हुनेछ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। 

यो दिन लघुवित्त समूह मात्रै ०.९९ प्रतिशतले उकालो लागेको हो। 

आज वित्त समूह सर्वाधिक १.९८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत र व्यापार समूह समान १.८१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४५ प्रतिशत, विकास बैंक समूहमा १.६३ प्रतिशत, होटेल तथा पर्यटन समूह १.६५ प्रतिशत, लगानी समूहमा १.६२ प्रतिशत, जीवन बीमा समूहमा १.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत, म्युचुअल फन्ड समूह ०.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४५ प्रतिशत र अन्य समूहमा १.०७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ९० लाख ३ हजार ९४१ कित्ता सेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन माछापुच्छ्रे बैंकको १३ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ९ करोड १२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ७५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ६९ लाख रुपैयाँ, रिलायबल लाइफ इन्स्योरेन्सको ७ करोड ५४ लाख रुपैयाँ, सिटिजन्स बैंकको संस्थापक सेयरको ६ करोड ७५ लाख रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ६१ लाख रुपैयाँ, सोल्टी होटेलको ३ करोड ६१ लाख रुपैयाँ र अपी पावरको ३ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसिया हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

आज शुभम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।