काठमाण्डौ । करिब ३० महिनासम्म साइडवेजमा चलेको सेयर बजारमा मंसिर २४ गते आइतबारदेखि उछाल आउन सुरु गरेको थियो । यो क्रमले यो साताको पहिलो कारोबार दिन पुस १ गते(आइतबार) पनि निरन्तरता पाएको छ । 

यो बीचमा बजार ६ दिन सञ्चालनमा आएको छ । यो अवधिमा नेप्से परिसूचक १८४.९६ अंकले बढ्यो भने बीचमा एक दिन १५.४० अंकले घट्यो । 

मंसिर २४ गते आइतबार बजार सर्किट लागेर जम्माजम्मी ९ मिनेटको कारोबारमा बन्द भएको थियो । त्यसको भोलिपल्ट करेक्सन आएको बजारमा ४ अर्ब ७८ करोड बढीको कारोबार भयो । 

त्यसको भोलिपल्ट ४ अर्ब २६ करोड बढी, त्यसपछि क्रमशः ३ अर्ब ८३ करोड, ३ अर्ब ८ करोडको कारोबार भयो । 

आज कारोबारमा पनि उछाल आयो । परिणामस्वरुप आजको कारोबार रकम ५ अर्ब १० करोड माथि भएको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्दै जानु बजारमा दिगो बढोत्तरीको संकेत हो । 

एकातिर बजार करेक्सन हुँदै माथि जानु र अर्कोतर्फ दैनिकजसो कारोबार रकमले पनि साथ दिनुले बजारको यात्रा निकै दिगो हुनसक्ने सहजै आँकलन गर्न सकिन्छ । 

कुन समूहले तान्दैछ लगानीकर्ता ?
यो ६ दिनको कारोबारमा सबैभन्दा बढी आकर्षण हाइड्रोपावरमा देखिएको छ । यो समूहको परिसूचकसँगै कारोबार रकम पनि अरुभन्दा उच्च रहँदै आएको छ । 

नेप्सेको बजारीकरणमा बैंकिङ लगायतका केही समूहको हिस्सा जलविद्युत समूहको भन्दा बढी रहेको छ । तर, ६ दिनमा कारोबार चाहिँ हाइडो समूहले सबैभन्दा बढी गर्नु र सूचक पनि निरन्तर उकालो लाग्नुले यो क्षेत्र अझै बुम हुनसक्ने देखिन्छ । 

जस्तो, आजकै कारोबारको अवस्था हेर्दा हाइड्रो समूहको मात्र २ अर्ब ६ करोड माथि रहेको छ । 

आज धेरै कारोबार गर्ने दोश्रो समूहमा बीमा समूह छ । यो समूहको कारोबार रकम ६६ करोड १८ लाख बढी रहेको छ ।

यस्तै, डिसेम्बर १४ का दिन पनि हाइडो समूहले नै सबैभन्दा बढी ८६ करोड ६६ लाख बढीको कारोबार गरेको थियो ।

यो दिन ४४ करोड बढी कारोबारसहित जीवन बीमा समूह दोश्रो स्थानमा थियो । 

डिसेम्बर १३ का दिन पनि हाइड्रोपावर समूहले नै सबैभन्दा बढी १ करोड १३ लाख बढीको कारोबार गरेको थियो ।

सो दिन पनि जीवन बीमा समूह ५३ करोड बढी कारोबारसहित दोश्रो स्थानमा थियो । 

डिसेम्बर १२ मा भएको कारोबारमा पनि १ अर्ब १३ करोडसहित हाइड्रोसमूहले नै लिड गरेको थियो ।

७७ करोड बढी कारोबारसहित जीवन बीमा समूह दोश्रो स्थानमा थियो । 

डिसेम्बर ११ का दिन हाइडो समूह १ अर्ब १७ करोडसहित पहिलो स्थानमा थियो भने ८४ करोड ७८ लाख बढी कारोबारसहित जीवन बीमा समूह दोश्रो स्थानमा थियो । 

बजारमा जम्माजम्मी ९ मिनेट मात्र कारोबार भएको दिन पनि हाइड्रो समूहको सबैभन्दा बढी  १२ करोड ७९ लाख रहेको थियो ।

सो दिन पनि ९ करोड ९४ लाख बढी कारोबारसहित जीवन बीमा समूह दोश्रो स्थानमा रहेको थियो । 

सूचकका आधारमा
यो ६ दिनको कारोबारका क्रममा सूचकका आधारमा हेर्दा हाइड्रो समूह ५ दिन उछालको गतिमा बढेको छ भने एकदिन ०.६८ प्रतिशतले घटेको छ ।

हाइडो समूह करेक्सन व्यहोर्दै दिगो उछालको बाटोमा दौडिएको देखिन्छ ।

 

फाइनान्स समूह पनि ५ दिन बढेको छ भने एकदिन घटेको छ। 

विकास बैंक समूहमा पनि ५ दिन बढोत्तरी देखिएको छ भने एकदिन करेक्सन । 

इन्भेष्टमेन्ट समूहमा ४ दिन बढोत्तरी भएको छ भने २ दिन गिरावट आएको छ । 

यो ६ दिनमा उत्पादन तथा प्रशोधन समूह भने निरन्तर बढिरहेको देखिएको छ । 

माइक्रोफाइनान्स समूहमा पनि लगानीकर्ताको आकर्षण देखिन्छ । यो समूहको सूचक एकदिन झिनो करेक्सन भएर बाँकी ६ दिन बढेको छ । 

यसअघिका ५ कारोबार दिनमा बढेको म्युचुअल फण्ड समूह आज भने करेक्सनमा गएको छ । 

एकदिन १.३१ प्रतिशतले घटेको निर्जीवन बीमा समूह ५ दिन भने राम्रै अंकले बढेको देखिएको छ । 

कुल ६ करोबार दिनमा २ दिन घटेको होटल तथा टुरिजम समूह ४ दिन भने बढेको छ । 

यो अवधिमा ट्रेडिङ समूह भने ४ दिन घटेको छ भने २ दिन झिनो अंकले बढेको छ । 

बैंकिङ समूह ३ दिन घटेको छ भने ३ दिन बढेको छ ।