काठमाण्डौ । बैकिङ समूहमा ग्रहण लाग्दा र बिमा समूहमा समेत अपेक्षित बढोत्तरी हुन नसक्दा सेयर बजार परिसूचक(नेप्से) ६.२२ अंकले घटेको छ । परिसूचकसँगै कारोबार रकम पनि घटेर ९१ करोडमा झरेको छ । परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथ घट्दै जानुले राम्रो संकेत गर्दैन । तर, नेप्से परिसूचकको १० अंकसम्मको घटबढलाई सामान्य मान्दा बुधबारको बजारको प्रदर्शनबाटै आत्तिनुपर्ने अवस्था भने छैन । कारण, बैंक तथा बित्तीय संस्थाहरुले चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेसँगै लाभांशको घोषणा गर्न थालेका छन् । लाभांशको घोषणाको लहर सुरु हुनेबित्तिकै बजारमा बुलिस ट्रेण्ड सुरु हुनसक्छ । तरलता अभावको समस्या बिस्तारै समस्या हुँदै जाँदा बैंकहरुले ऋणको ब्याजदर केही खुुकुलो बनाउन थालिसकेका छन् भने यो अवस्था अझ सहज भएपछि बजारले थप गति लिने देखिन्छ । 

बुधबार होटल र बिमा बाहेक अन्य सबै समूहको सूचकमा रातो पोतिएको छ । होटल समूह १.३५ अंक र बिमा समूह ८.७१ अंकले बढे । 

बैकिङ समूह ६.४८, विकास बैंक र बित्त समूह क्रमशः १२.७२ र ३.७ अंकले घटेका छन् । यस्तै, जलविद्युत समूह १२.७५, उत्पादनमूलक २५.१४ र अन्य समूह १.४५ अंकले घटेका छन् । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.२१ अंकले घटेको छ भने समग्र कारोबार समेत घटेका कारण फ्लोट इण्डेक्समा ०.५९ अंकले घट्न पुुगेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कुल १ सय ५९ कम्पनीका २८ लाख ३२ हजार ४ सय ४५ कम्पनीको सेयर ९१ करोड ६२ लाख ४१ हजार ७ सय ३२ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा नागरिक लगानी कोषको ३ करोड ९५ लाख बढीको सेयर किनबेच भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९० लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ५ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले २ करोड ९२ लाख, नबील बैंकले २ करोड १९ लाख, फरवार्ड माइक्रो फाइनान्सले २ करोड ५ लाख बढीको कारोबार गरे । यस्तै, आकर्षक बोनस र नगद लाभांश घोषणा गरेको मेरो माइक्रोफाइनान्सले पनि २ करोड बढीको सेयर कारोबार गर्यो । नेपाल बैंकले १ करोड ८६ लाख, एशियन लाइफ इन्स्योरेन्सले १ करोड ८५ लाख, नेशनल हाइडोपावर कम्पनी लिमीटेडले १ करोड ८० लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी तिनाउ विकास बैंकले कमायो । यो कम्पनीको सेयर मूल्य ५.६६ प्रतिशतले वृद्धि भयो । यस्तै, रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्थाको मूल्य ५.४७ र सिन्धुु विकास बैंकको मूल्य ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन लक्ष्मी भ्यालुु फण्ड १ को मूल्यमा पहिरो गयो । यो म्युुचुुअल फण्डको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, जनरल फाइनान्स र छ्याङ्दी हाइडोपावरको मूल्यमा समेत ९ प्रतिशतको हाराहारीमा गिरावट आयो ।