काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनलाई पछ्याउँदै यो साताको पहिलो कारोबार दिन आइतबार बजारमा केही शुभ संकेतहरु देखिएका छन् । यो दिन बजार परिसूचक(नेप्से) र कारोबार(टर्नओभर)तर्फ नै वृद्धि देखिएको हो ।

बजार विश्लेषकहरुका अनुसार बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) दुवै समानान्तर गतिमा बढ्दै गए र यो प्रवृति केही दिनसम्म रहे बजार बुलिस ट्रेण्डमा कुद्नेछ । तर, यो दिन कारोबार रकमलाई माथि उचाल्न नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरले ठूलो मद्धत गर्यो । नेपाल लाइफको संस्थापक सेयर मात्र १७ करोड बढीको किनबेच भयो । त्यसकारण समग्र बजार परिसूचक बुलिस टेण्डमा कुद्नका लागि आइतबारको प्रवृति केही दिनसम्म निरन्तर रहनुुपर्छ । ठूला चाडपर्व आएका कारण बजारमा त्यसको प्रभाव पर्ने र बजारमा आगामी दिनमा ठूलो उतारचढाव भने नआउनसक्छ । 

त्यसो त गत साताका अधिकांश कारोबार दिन कालो बादल मडारिएको बजारमा यो साताको पहिलो दिनदेखि नै दोहोरो अंकको बढोत्तरी हुनुु आफैंमा सुखद संकेत हो । लाभांशको बहार आएको, बैंकले प्रवाह गर्ने ऋण सहज र सरल भएको, बैंकहरुले ब्याजदर घटाउन थालेका लगायतका कारणले बजारमा खरीदकर्ताहरुको संख्या बढेको हो । कतिपयले भने बजार घटेको बेला सस्तोमा सेयर उठाउन थालेपछि पनि यसले बजार बढाउन सहयोग गरेको देखिएको छ । 

आइतबार १७.६३ अंकले बढेको छ भने करिब ७८ करोडको हाराहारीमा सेयरको किनबेच भएको छ । यो दिन बजारमा बैकिंग समूहको दबदबा रह्यो । 

बैकिङ समूह २५.१३ अंकले बढ्यो भने बिमा समूह ४३.१४, विकास बंैक ८.८८, जलविद्युत समूह ४.४१, उत्पादनमूलक १८.१४ र टेडिंग समूह १८.८३ अंकले वृद्धि भए । होटल, बित्त र अन्य समूहमा भने गिरावट आये । होटल समूह १४.७२, बित्त समूह १.८४ र अन्य समूह ०.५८ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेको छ । यस्तै, समग्र कारोबारमा पनि सुधार आउँदा फ्लोट इण्डेक्स १.४२ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ५९ कम्पनीका १६ लाख ५४ हजार ४ सय ८२ कित्ता सेयर ७७ करोड ८० लाख ९९ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भयो । यो दिन नेपाल लाइफले मात्रै २१ करोड बढीको कारोबार गर्यो । नेपाल लाइफको संस्थापकतर्फको सेयर मात्रै १७ करोड ८५ लाख बढीको किनबेच भयो । साधारण सेयरतर्फ भने ३ करो ८० लाख बढीको कारोबार भयो । 

कृषि विकास बैंकले २ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ९४ लाख, एशियन लाइफ इन्स्योरेन्सले १ करोड ७० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ४५ लाख, एभरेष्ट बैंकले १ करोड ४५ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ४ स्थान बिमा कम्पनी र एक स्थान लघुवित्तले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विशाल बजार कम्पनी लिमीटेड र प्रोग्रेसिभ फाइनान्सको सेयरधनी मालामाल भए । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन मिथिला लघुवित्त विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापकतर्फको सेयर मूल्य पनि साढे ४ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।