काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा ‘अशुभ संकेत’ देखिएको छ । यो दिन नेप्से परिसूचक ०.५८ अंकले घटेको छ भने कारोबार रकममा भने पहिरो गएको छ । नेप्से परिसूचकको झिनो गिरावट हुँदा कारोबार रकममा पहिरो जानुले बजारले आगामी दिनमा नराम्रो बाटो पक्रनसक्ने चिन्ता बढाइदिएको छ । तर, दोश्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेकाले सूचिकृत कम्पनीहरुको प्रगति रिपोर्टले समेत आगामी बजारको भविष्य निर्धारण गर्नेछ । 

जानकारहरुका अनुसार लगानीकर्ताले अपेक्षा गरेजस्तो उत्कृष्ट रिपोर्ट  बैंक तथा बित्तीय संस्थाहरुले  पस्किरहेका छैनन्, जसले लगानीकर्तामा उत्साह भर्न नसकेको देखिन्छ । अर्कोतर्फ, यही बेला विभिन्न कम्पनी तथा म्युचुअल फण्डहरुको सार्वजनिक निश्कासनमा लगानीकर्ताले झुम्मिँदा त्यसको नकारात्मक प्रभाव बजारमा परेको छ । योसँगै लगानीयोग्य रकम पर्याप्त नहुँदा बैंक तथा बित्तीय संस्थाहरुले कर्जा बिस्तारमा लगाएको लगामले समेत बजार घटाउन काम गरेको ठानिएको छ । 

यस्तै, कतिपयले भने लगानीकर्ताहरु नयाँ सरकारको नीतिको समेत व्यग्र प्रतिक्षामा छन् । अब बन्ने बाम गठबन्धनको सरकारले लिने आर्थिक नीति कस्तो हुने भन्ने बिषयले समेत लगानीकर्ताको मन मस्तिष्कमा ठाउँ बनाएको छ । यहीकारण धेरै ठूला लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन् । उनीहरु सरकार बन्ने घडीको प्रतिक्षामा रहेका कारण समेत कारोबार रकममा गिरावट आएको बताइएको छ । 

यो दिन बजारका ५ वटा समूहको सूचकमा रातो पोतिएको छ । यस्तै, ५ समूहको सूचक  भने  बढेको छ । 

बैकिङ समूह ०.८३ अंकले बढेको छ । यस्तै, व्यापारिक समूहमा  १०.२२ अंक, होटल समूह ०.५६ अंक, जलविद्युत समूहको २३.४३ अंक र उत्पादनमूलक समूहको सूचक ३.४१  अंकले बढेको छ ।

यस्तै, विकास बैंक समूहको सूचक ०.५२ अंकले घटेको छ भने बित्त समूह २.०५, बिमा समूह १८.६५, अन्य समूह ४.३ र माइक्रोफाइनान्स  समूह १३.२९ अंकले बढेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ०.१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०२ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका ९ लाख ३८ हजार ७ सय ३४ कित्ता सेयर ३६ करोड १५ लाख  ३८ हजार ८ सय ३८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी सानिमा माई हाइड्रोले ५ करोड १८ लाख बढीको कारोबार गर्यो । नेको इन्स्योरेन्सले २ करोड ५७ लाख, फ्रस्ट माइक्रोफाइनान्सले २ करोड ४ लाख बढीको कारोबार गर्यो । सनराइज बैंकको १ करोड ६३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकले १ करोड २४ लाख, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले ९७ लाख, सानिमा बैंकले ८३ लाख, नेपाल बैंकले ७८ लाख, कृषि विकास बैंकले ७५ लाख बढीको कारोबार गरेको छ ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी विशाल बजार कम्पनी  लिमीटेडका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्यमा ६.३८ प्रतिशतको वृद्धि भयो । कामना सेवा विकास बैंक लिमीटेडका लगानीकर्ताले समेत ६ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन बेस्ट फाइनान्स कम्पनी लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ४.३१ प्रतिशतले गिरावट आयो ।