काठमाण्डौ । प्रधानमन्त्रीमा ओलीको नियुक्तिसँगै लगानीकर्ता उत्साहित हुँदा चम्किएको बजार फेरि घटेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उछाल आएको थियो । बजार बढ्ने लगानीकर्ताको आशा साताको पहिलो कारोबार दिन निराशामा परिणत भयो । यो दिन नेप्से परिसूचक ११ अंकले घटेर १४१३.९० विन्दूमा सीमित बन्न पुुगेको छ । तर, कारोबार रकम ५९ करोड माथि रहेकोले अत्तालिनुुपर्ने अवस्था भने छैन । 

यस्तै, ओली नेतृत्वको सरकारले आफ्नो कार्ययोजनामा सेयरबजार मैत्री नीति अवलम्बन गर्ने प्रष्ट पारिसकेको छ । सेयर कारोबारमा भ्याट नलगाउने, लगानीको उपयुक्त वातावरण बनाउने, बैंक तथा बित्तीय संस्थामा लगानीयोग्य पूँजी तथा स्रोतको निर्माणका लागि उचित कदम चाल्ने जस्ता एजेण्डा ओलीको कार्ययोजनामा समेटिएका कारण लगानीकर्ता निराश भइहाल्नुपर्ने अवस्था छैन ।

यो दिन उत्पादनमूलक बाहेक बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । बैकिङ समूह २.८३ अंकले घटेको छ भने बिमा, विकास बैंक, बित्त र माइक्रोफाइनान्स समूह क्रमशः १०७.४८, २१.५८, ८.१५ र ३०.३२ अंकले घटेका छन् । यस्तै, जलविद्युत समूह ३४.२६, होटल समूह ३८.६४ अंक र अन्य समूह ९.९६ अंकले घटेका छन् । यो दिन उत्पादनमूलक समूहमा ९.६९ अंकको बढोत्तरी भएको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स २.१४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८१ अंकले गिरावट भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका १४ लाख २९ हजार ३ सय ५९ कित्ता सेयर ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ८१ लख बढीको कारोबार गर्यो । यस्तै, सानिमा बैंकले २ करोड ७३ लाख, नवील बैंकले २ करोड १८ लाख, नेपाल बैंकले २ करोड १६ लाख, एभरेष्ट बैंकले १ करोड ९९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८४ लाख, सिद्धार्थ बैंकले १ करोड ७९ लाख, सेञ्चुरी बैंकले १ करोड ७६ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ५५ लाख र कुमारी बैंकले १ करोड ५४ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बोटलर्स नेपाल(तराई) लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ४.०२ प्रतिशतले वृद्धि भयो । यस्तै चिलिमे हाइड्रोले साढे ३ प्रतिशतको हाराहारीमा कमायो । 

यो दिन प्रोग्रेसिभ फाइनान्सको मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको मूल्यमा ७.५४ प्रतिशतले गिरावट आयो ।