danger zone
काठमाण्डौ । सेयरको कारोबार पूर्ण स्वचालित प्रणालीमा जाने, निर्वाचनको मिति घोषणा हुने तथा तरलताको सकसमा सुधार हुने खबरहरुका कारण गत साता केही सुधार भएको बजारमा फेरि ‘खतराको घण्टी’ बजेको छ ।
यो साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने अरुबेला बजारलाई काँध थाप्ने टर्नओभर(कुल कारोबार)मा पनि भीषण पहिरो गएको छ । बजार परिसूचक र कारोबार रकम यसरी एकसाथ घट्दा बजारमा ठूलै संकट आउनसक्ने विश्लेषक तथा अनुुभवी कारोबारीहरु तर्क गर्छन् । आइतबारको बजारले समेत खतराको घण्टी बजाएको उनीहरुको भनाई छ ।
‘बजार परिसूचकसँगै कारोबार रकम पनि यसरी घट्दै जाने हो भने यसले बजार क्र्यास हुनसक्छ । यस्तो बेलामा लगानीकर्ताले भावनामा बगेर वा कसैको लहै–लहैमा लागेर भन्दा पनि कम्पनीको सबै अवस्था बुुझेर मात्र लगानी गर्नु हितमा हुन्छ ।’
►अञ्जनराज पौड्याल, पूर्व अध्यक्ष–स्टक ब्रोकर एशोसिएसन नेपाल
स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालका अनुसार बजार परिसूचक दोहोरो अंकले घटेको समयमा कारोबार रकममा पनि आधा भन्दा बढीले गिरावट आउनु चिन्ताको बिषय हो । ‘बजार परिसूचकसँगै कारोबार रकम पनि यसरी घट्दै जाने हो भने यसले बजार क्र्यास हुनसक्छ ।’ उनले थपे–‘यस्तो बेलामा लगानीकर्ताले भावनामा बगेर वा कसैको लहै–लहैमा लागेर भन्दा पनि कम्पनीको सबै अवस्था बुुझेर मात्र लगानी गर्नु हितमा हुन्छ ।’
नेप्से परिसूचक १७.९५ अंकले घटी १३६४.५० अंकमा झरेको छ भने कारोबार रकम गत साताको अन्तिम कारोबारको दिनको भन्दा आधा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ५४ करोड ३१ लाखको सेयर किनबेच भएकोमा आइतबार २६ करोड १४ लाखको मात्र कारोबार भयो ।
आइतबार होटल बाहेकका सबै परिसूचकमा पहिरो गयो । वाणिज्य बैंक समूह २०.७२ अंकले घट्यो भने बिमा समूहमा १२६.५५ अंकको पहिरो गयो । विकास बैंक, बित्त, जलविद्युत समूहमा क्रमशः ४.०२, ५.७२ र ०.३८ अंकको गिरावट देखियो । अन्य समूह ९.५४ अंकले घट्दा होटल समूह चाहि ७.८९ अंकले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनी
कारोबार रकममा ठूलै पहिरोको सामना गरेको बजारमा सबैभन्दा बढी डिप्रोक्स डेभलपमेन्ट बैंकको ३ करोड २९ लाख बढीको सेयर किनबेच भएको छ । प्रभूू बैंकले १ करोड ५८ लाखको कारोबार गर्यो भने नेपाल लाइफले १ करोड ५५ लाखको कारोबार गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ३७ लाख, एनबी बैंकले ९२ लाख बराबरको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ कम्पनीको कारोबार १ करोड भन्दा कम भयो । यस्तै, १० कम्पनीमध्ये ७ स्थानमा वाणिज्य बैंक, एक स्थानमा विकास बैंक, एक स्थानमा बिमा कम्पनी र बाँकी एक स्थानमा जलविद्युत विकास तथा लगानी कम्पनीको बर्चश्व रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
घट्दो बजारमा आइएलएफसीओ माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, नवील इक्वीटी फण्डको सेयर मूल्यमा ८.४० प्रतिशतको बढोत्तरी भयो । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८ प्रतिशत बढीले वृद्धि भयो । डिप्रोक्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले आफ्नो सम्पत्ति ८ प्रतिशतकै हाराहारीमा बढाए ।
आइतबार सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, कावेली विकास बैंकका लगानीकर्ताले ८.१८ प्रतिशतले सम्पत्ति गुमाए भने सूूर्य इन्स्योरेन्सको सेयर मूल्य ७.६१ प्रतिशतले ओरालो लाग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago