-नवराज सुवेदी
नेपाली उखान छ-मानो रोपेर मुरी उब्जाउने । यो उखान झै हाम्रो पूँजीबजारमा पनि सही कम्पनी छनौट गरेर केही हजार लगानी गरेर दीर्घकालीन हिसाबले धैर्यता गर्ने हो भने त्यही हजारले लखपति मात्र नभई सोझै करोडपति बन्ने समयको संकेत बजारले गरिरहेको छ ।
सरकार, नियामक निकाय र सम्बन्धित सरोकारवाला पक्षले साच्चै नै पूँजीबजारको आधुनिकीकरण गरेर प्रविधि र पूर्वाधार जस्ता पक्षको बिस्तार एवम् विकासमा लाग्ने हो भने हाम्रो पूँजीबजारले निश्चय नै गति लिने समय आएको छ ।
तर, बिडम्बना सरकारले पूँजीबजारको महत्व नबुझ्नु साथै नियामक निकायको कार्यशैलीमा ढिलासुस्ती गर्नुले पनि आम लगानीकर्तामा भने अझै पूर्ण रुपमा आत्मबल बलियो बन्न सकिरहेको देखिएको छैन । राज्यले साच्चिकै ‘समृद्ध नेपाल, सुखी नेपाली’ देख्न चाहेकै हो भने अर्थतन्त्रकै मेरुदण्डको रुपमा चिनिने पूँजीबजारलाई प्राथमिकतामा राखेर तीव्र बिस्तार विकासमा लाग्नुपर्छ । हाम्रोजस्तो देशमा ठूला ठूला उद्योगधन्दा, कलकारखाना खोलेर तीव्र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने देखिन्छ । पर्यटन, कृषि, जलविद्युत जस्ता क्षेत्रमा ठूलो पूँजीको आवश्यकता देखिन्छ । जसका लागि राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय पूँजी निर्माणको भरपर्दो आधार भनेकै पूँजीबजार हो । आज अन्तर्राष्ट्रिय पूँजी यही पूँजीबजारको माध्यमबाट भित्र्याएर र्राष्ट्रिय एवम् अन्तरराष्ट्रिय पूँजीको परिचालन गर्नुपर्ने देखिन्छ । साथै, पूँजीबजारसँग सम्बन्धित नियामक निकायले धितोपत्र बोर्ड, नेपाल राष्ट्रबैंक, नेप्से, सिडिएससीले पनि अन्तर्राष्ट्रिय स्तरको गर्व गर्न लायक एवम् पूँजीबजारको विकास दत्तचित्त भएर लाग्नुपर्ने देखिन्छ । साथै, आम लगानीकर्ता, मिडिया सम्बन्धित सबै सरोकारवाला पनि आ आफ्नो ठाउँबाट पहलकदमी लिएर ठोस कदम केन्द्रीत हुनुपर्दछ । हाम्रो पूँजीबजार ऐतिहासिक कदमको पूर्वसन्ध्यामा रहेकोले पनि केही कम्पनीले बुलिस ट्रेण्ड समातिसकेको देखिन्छ ।
तसर्थ, निश्कर्षमा लगानी गर्नुपूर्व आफूले लगानी गर्ने कम्पनीको बारेमा गहन अध्ययन गरेर सुरक्षित लगानी गर्नुपर्दछ । घट्दो ब्याजदर घट्नु, बैंकले लाइसेन्स प्राप्त गर्नु, अनलाइन अन्तिम चरणमा पुग्नु, सबै सरोकार पक्षको पूँजीबजारप्रति चासो बढ्नु आदि कारणले निश्चय नै मानो रोपेर मुरी उब्जिने सही समयको संकेत गर्दछ । यस्तो बेलामा लगानीकर्ताले कम्पनीको अध्ययन र विश्लेषण गरेर लगानी गर्न सके, अहिलेको सानो लगानीले भविष्यका लागि बलियो आर्थिक जग तयार गरिदिनसक्छ । बजारमा अवसरको बहार आएको बेला बुद्धिमतापूर्वक त्यसको सदुपयोग गर्नेहरुले नै बजारमा कमाउन सक्छन् । यो बेला अवसरको रेल छुटाउनेहरुले भविष्यमा पछुताउनुपर्नेछ ।
(लेखक नेपाल पूँजीबजार संघका अध्यक्ष हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago