काठमाण्डौ । बजारमा बुलिस ट्रेण्ड सुरु भएको छ । लामो समयसम्म ‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ताहरु समेत एकाएक बजार प्रवेश गरी सेयर खरीद गर्न थालेपछि बजारमा बुलिस टेण्ड देखिएको हो । 

केही दिनदेखि लगातार बढिरहेको बजार आइतबार कारोबार पहिलो दुईघण्टामा उछालको गतिमा दौडिइरहेको छ । यो अवधिमासम्म नेप्से परिसूचक २३.१५ अंकले वृद्धि भई १२६७.९९ को विन्दूमा पुगेको छ भने ३६ करोड भन्दा बढीको कारोबार भइसकेको छ । 

वाणिज्य बैंकका सेयर सस्तो मूल्यमा खरीद गर्नेको बजारमा तँछाडमछाड देखिएको छ । यहीकारण बैंकिङ समूहको सूचक पनि २.५२ प्रतिशतले वृद्धि भइसकेको छ । 

बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाउन थालेपछि, मौद्रिक नीतिको व्यवस्था अनुसार सेयरधितो कर्जा सस्तो दरमा दिने वाणिज्य बैंकबीच प्रतिस्पर्धा चल्न थालेपछि बजारमा सकारात्मक संकेत देखिएको हो । सहज ढंगले मार्जिन कर्जा पाउने अवस्था भएपछि लामो समयसम्म चूप बसेका लगानीकर्ता समेत ठूलो भोल्यूममा सेयर खरीद गर्न थालेका ब्रोकरहरुले बताएका छन् । 

बजारमा यसअघि नदेखिएका नयाँ अनुहार समेत देखिएको छ । यसको अर्थ पुरानाको साथमा नयाँ लगानीकर्ताले समेत उपयुक्त समय भन्दै यही बेला बजार प्रवेश गरिरहेका छन् । यसले समेत बजारमा उच्च खरीद चाप देखिई उछालको अवस्था बनेको हो । 

पहिलो २ घण्टामा होटल समूहको सूचक १.१३ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । जीवन र निर्जीवन बिमा समूहमा समेत २ प्रतिशत भन्दा बढीको उछाल देखिएको छ । माइक्रोफाइनानस समूहमा १.१९ प्रतिशत, विकास बैंक समूहमा २.०२ प्रतिशतको उछाल देखिएको छ । 

यो अवधिसम्म धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंक मात्र परेका छन् । सबैभन्दा बढी एनएमबी बैंकले ३ करोड ७१ लाख बढीको कारोबार गरिसकेको छ । नेपाल बैंकले २ करोड ६३ लाख र कुमारी बैंकले २ करोड १७ लाख बढीको कारोबार गरिसकेका छन् ।