काठमाण्डौ । बजारमा सेयर किन्ने र बेच्नेको टक्कर परिरहेको छ । पछिल्लो समय लङटर्मका लागि राम्रा कम्पनीको सेयर खरीद गरी होल्ड गर्नेहरुको संख्या बढेसँगै बजार बढेको मौकामा थोरै प्रफिट बुक गरी बेच्ने सर्टटर्म कारोबारीको संख्या समेत कम छैन । यो क्रममा साताको पहिलो कारोबार दिन बजारमा बिक्री चाप हाबी भयो, फलस्वरुप बजारमा १०.४७ अंकको करेक्सन भई नेप्से १२५६.७१ को विन्दूमा समेटिन पुगेको छ ।
बैंक ब्याजदर घट्दो क्रममा रहेपछि बजारमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको छ । अघिल्लो साताको अन्तिम दिनको बजार र आजको बजारमा सर्टटर्म कारोबारीका कारण करेक्सन देखिएको विश्लेषकहरु बताउँछन् । बजार क्रमशः बलियो बन्दै गएको र अरुबेला २० करोडको हाराहारीमा मात्र कारोबार हुने गरेको बजारमा अहिले ५० करोड भन्दा माथिको कारोबार दैनिक भइरहेकोले लगानीकर्ता अत्तालिनुपर्ने अवस्था नरहेको विज्ञहरु दाबी गर्छन् ।
लगानीकर्ता राम्रो लाभांश दिन लागेका राम्रा कम्पनीको सेयरमा बढी झुम्मिएका देखिन्छन् । लाभांशको मौसम र बजारका लागि अन्य परिस्थिति समेत अनुकुल नै रहेका कारण समेत बजारमा कारोबार रकमले बलियो साथ दिइरहेको देखिन्छ ।
यो दिन बजारमा ‘क’ वर्गका कम्पनीमा बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स २.१४ अंकले घटेको छ । यो दिन समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.७१ अंकको गिरावट देखिएको छ ।
यो दिन बजारमा व्यापार समूह बाहेक सबैमा रातो पोतिएको छ । व्यापार समूह भने १.८६ अंकले बढेको छ ।
बैंकिङ समूह ९.१८ अंकले घटेको यो दिन बिकास बैंक समूह २२.३६, निर्जीवन बिमा समूह ५८.२८, जीवन बिमा समूह १९.०१, माइक्रोफाइनान्स समूह १५.७, जलविद्युत समूह १.१३, होटल समूह ३५.२२, उत्पादनमूलक ३५.२६ र अन्य समूह ५.०६ अंकले घटेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका २० लाख ८२ हजार ९ सय २० कित्ता सेयर ५८ करोड २२ लाख ५० हजार ८ सय २८ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ६ करोड ४९ लाख बढीको कारोबार गर्यो।
यसैगरी, सोल्टी होटल लिमीटेडले ५ करोड ३ लाख बढीको कारोबार गरेको दिन एनआइसी एशिया बैंकले ३ करोड १६ लाख, एनएमबी बैंकले २ करोड ६५ लाख, नेपाल बैंकले २ करोड ५२ लाख, प्रभू बैंकले २ करोड १२ लाख, माछापुच्छे बैंकले १ करोड ९६ लाख, मेगा बैंकले १ करोड ७५ लाख, जनता बैंक नेपालले १ करोड ७१ लाख र सानिमा माई हाइडोले १ करोड ५७ लाख बढीको कारोबार गरेका छन्।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशतले वृद्धि भयो । बेस्ट फाइनान्सका लगानीकर्ताले ३.०३ प्रतिशतले सम्पत्ति बढाए ।
यो दिन महालक्ष्मी विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६.२५ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19