काठमाण्डौ । बजारमा सामान्य सुधार भएको छ । मंगलबार नेप्से परिसूचक २.६९ अंकले बढेर १२४१.३६ को विन्दूमा पुगेको हो । 

नेप्से परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकम भने घटेको छ । यसरी कारोबार रकम घट्नु राम्रो संकेत होइन । विगत लामो समयदेखि दैनिक कारोबार रकम ५० करोड माथि भइरहेको बेला मंगलबार भने घटेर ४५ करोड ५९ लाखमा सीमित बन्न पुगेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप केही बढेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१२ अंकको बढोत्तरी भएको छ । 

आइतबारदेखि नै बजारमा दशैं प्रभाव देखिएको छ । पहिलो त्रैमासको अन्तमा ब्याजको भार र दशैं खर्चको जोहोका लागि कतिपयले सस्तोमै सेयर बेचिरहेका छन् भने केही चलाख लगानीकर्ता यहीबेला राम्रा कम्पनीको सेयर उठाउने अवसरको समेत सदुपयोग गरिरहेका छन् । यहीकारण पनि आइतबार र सोमबार घटेको बजार आइतबार भने केही बढेको हो । 

बजारका ५ वटा समूहको सूचकमा रातो पोतिएको छ भने बाँकी ६ समूहको सूचकमा हरियाली छाएको छ । 

बैंकिंग समूह १.६३ अंकले बढेको यो दिन व्यापार समूह १.६९, निर्जीवन बिमा समूह १२.१५, माइक्रोफाइनान्स समूह ३.०८, जीवन बिमा समूह १४.६२ र अन्य समूह ७.७७ अंकले बढे । 

यो दिन होटल समूहमा ०.२९ अंकको गिरावट देखिएको छ । विकास बैंक समूहमा ०.४४ अंकको गिरावट देखिएको छ भने जलविद्युत समूहमा २.९१ अंक, बित्त समूह १.०१ अंक र उत्पादनमूलक ५.६८ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७१ कम्पनीका २० लाख ४० हजार ८३ कित्ता सेयर ४५ करोड ५९ लाख ९५ हजार १ सय १४ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ३ करोड ६५ लाख बढीको कारोबार गरेको छ । सानिमा माई हाइड्रोले २ करोड ९० लाख बढीको कारोबार गरेको यो दिन माछापुच्छे बैंकले २ करोड १० लाख, प्रभू बैंकले १ करोड ९२ लाख, एनएमबी बैंकले १ करोड ६७ लाख, कुमारी बैंकले १ करोड ६५ लाख, एनआइसी एशिया बैंकले १ करोड ६२ लाख, नेपाल बैंकले १ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३२ लाख र जनता बैंक नेपाल लिमीटेडले १ करोड ३ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि नाडेप लघुवित्तका लगानीकर्ता सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढ्यो । यो दिन एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले ५.२० प्रतिशतले सम्पत्ति बढाएका छन् । 

यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.३५ प्रतिशतले घट्यो ।