काठमाण्डौ । बुमको गतिमा दौडिएर गत साताको अन्तिम कारोबार दिन ह्वात्तै बढेको बजारमा यो साताको पहिलो कारोबार दिन स्खलन आएको छ।

केही बजार विश्लेषकको शब्दमा यस्तो प्रवृति भावनात्मक आवेगका कारण आउने चरम उत्तेजनापछिको स्खलन हो । 

बुमको गतिमा दौडिएको बजार दोहोरो अंकले घट्नु पछाडिको कारण सेयर बजार सुधारका लागि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले चाल्नुपर्ने कदममा भइरहेको ढिलाईलाई समेत कतिपयले लिएका छन् । 

अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनमा नेपाल राष्ट्रबैंकले आफ्नो कार्यक्षेत्रमा पर्ने काम गरेका कारण बढेको बजार धितोपत्र बोर्ड र नेप्सेले गर्नुपर्ने काममा ढिलाई भएका कारण सशंमा दखिएको दाबी कतिपय विश्लेषकको छ । 

कतिपयले भने आइतबारको बजार गिरावटलाई करेक्सनको संज्ञा समेत दिएका छन् । 

यो दिन नेप्से परिसूचक १०.६२ अंकले घटेर १२०४.५४ को विन्दूमा सीमित हुन पुगेको छ भने गत साताको अन्तिम कारोबार दिनका १ अर्ब १२ करोड बढीको कारोबार रकममा पहिरो गई ४५ करोड ४२ लाखमा सीमित बन्न पुगेको छ । 

यो दिन होटल समूह २०.७९ अंकले बढेको छ भने निर्जीवन बिमा समूह २९.८१ अंक र उत्पादनमूलक २.३२ अंकले बढेका छन् । 

बैंकिंग समूह ६.४८ अंकले घटेको यो दिन व्यापार समूह २.९६ अंक, विकास बैंक ६.०२, जलविद्युत समूह ३.३६ र बित्त समूह २.१५ अंकले घटे।

यसैगरी, जीवन बिमा समूह ५२.३३ अंकले घट्यो भने माइक्रोफाइनान्स समूह ४.६२ र अन्य समूह ३३.४४ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६८ कम्पनीका १२ लाख ३६ हजार ३ सय ४३ कित्ता सेयर ४५ करोड ४२ लाख ८४ हजार ३ सय ९३ रुपैयाँमा किनबेच भयो । 
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख बढीको सेयर  किनबेच भयो । 

नेपाल बैंकले ३ करोड ७ लाख बढीको सेयर कारोबार गरेको यो दिन नागरिक लगानीकोषले २ करोड ७३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले २ करोड १० लाख, एनसीसी बैंकले १ करोड ५८ लाख, छिमेक लघुवित्तले १ करोड ३९ लाख, नेपाल टेलिकमले १ करोड ३७ लाख, जनता बैंक नेपालले १ करोड २८ लाख, ग्लोबल आइएमई बैंकले १ करोड २७ लाख र प्राइम लाइफ इन्स्योरेन्सले ९८ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो दिन ९.४३ प्रतिशतले यो कम्पनीको सेयर मूल्य बढ्यो । 

कावेली विकास बैंक लगानीकर्ताले सबैभन्दा गुमाए । यो कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशतले घट्यो ।