– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अघिल्लो सातादेखि निरन्तर घटेको सेयर बजारमा यो हप्ता पनि कारोबारको पहिलो र दोस्रो दिन भारी गिरावट आएको छ।
बजार जानकार तथा विश्लेषकहरुले बजार घट्नुपर्ने खास कारण नभएको बताइरहेका छन्। बजार निरन्तर घट्दा आम लगानीकर्तादेखि दिग्गज लगानीकर्ताहरु पनि अलमलमा परेका छन्। खासमा बजार बढ्दा घट्ने आधार प्रशस्त भेटिन्छन् भने बजार घट्दा पनि भविष्यमा बढ्ने थुप्रै आधार भेटिन्छन्। त्यसैले सेयर बजारमा उतारचढाव स्वाभाविक मानिन्छ। बजार जति घट्छ, त्यति नै झन् बलियो हुने सम्भवना हुन्छ। तर बजारमा मुख्य विषय भनेको बजारको ट्रेन्ड कुन हो भन्ने नै हुन्छ। यो पत्ता लगाइसकेपछि यदि बजार बुलिस नै हो भने हरेक घट्दो बजार खरिदको अवसर हुन्छ।
अहिले कोरोना महामारीको सन्त्रासबीच लगातार बजार घिटिरहेको छ। आमलगानीकर्तामा बजारको भविष्यलाई लिएर द्विविधा देखिएको छ।
प्राविधिक रुपले भन्नुपर्दा विभिन्न टेवा लिँदै बजार घटेको तथा प्रतिरोध लिँदै बढेको हुन्छ। विभिन्न टेवामा पनि बजार बढ्न सक्ने अर्थात युटर्न लिनसक्ने विन्दु पत्ता लगाउनु अथवा कुनै एउटा प्राविधिक संकेतलाई आधार लिएर सेयर कारोबार गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ।
सेयर बजारमा आधारभूत ज्ञानले कम्पनी छनौटको ज्ञान दिन्छ भने प्राविधिक ज्ञानले छानिएको कम्पनी कुन समयमा कारोबार गर्ने भनेर अनुमान लगाउन सकिन्छ। आज हामीले विभिन्न औजारमार्फत बजारको उचाइ तथा गहिराइ नाप्ने कोसिस गरेका छौँ।
फिवोनासी रिट्रेस्मेन्टका आधारमा
अघिल्लो साता लगातार करेक्सन व्यहोरेको बजारमा यो साताको पहिलो र दोस्रो दिनको कारोबारमा भारी गिरावट आएको छ। लामो समयको वृद्धिपछि केही करेक्सन आएकोले बजार अब कति अंक तल आउला अथवा कति–कति विन्दुमा सपोर्ट लिन्छ भन्ने जिज्ञासा रहने नै गर्छ।
फिवोनासी रिट्रेस्मेन्ट एउटा एस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। जसअन्तर्गत अब बजार घटेमा ०.५ प्रतिशतको टेवा २५६१.५४ विन्दुमा, ०.६१ प्रतिशतको टेवा २५१६.३१ विन्दुमा र ०.७८ प्रतिशतको टेवा २४५२.९४ विन्दुमा रहेका छन्। त्यहाँबाट पनि बजार तल आएमा १.२३ प्रतिशतको टेवा बजारले २३६७.३९ विन्दुमा लिनेछ।
फिवोनासी रिट्रेस्मेन्टलाई आधार मानेर सेयर कारोबार गर्नेहरुले बजार घटेपछि पुनः सेयर खरिदका लागि ०.५ प्रतिशतसम्मको टेवा कुर्न उपयुक्त हुने तर्क गर्छन्। यो सिद्धान्तलाई आधार मानेर कारोबार गर्नेहरु ०.५ प्रतिशत तथा ०.६१ प्रतिशतको टेवाबाट बजार पस्ने सम्भावना पनि हुन्छ। त्यसैले बजार २५०० आसपासकै विन्दुुबाट फर्किन पनि सक्छ। अन्यथा बजारलाई अन्य राजनीतिक तथा बाहिरी वातवरणले असर गरेमा १.२३ प्रतिशतको टेवा २३६७ विन्दुसम्म पनि बजार आउन सक्छ।
एमएसीडी लाइन
यो लाइनअन्तर्गत गत अप्रिल २० मा बियरिस क्रसओभर बनेको र हालसम्म पनि बियरिस सिग्नल भ्यालिड रहेको देखिन्छ। हिस्टोग्रामहरु नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। यसको अर्थ यो सिग्नलले अझै बजारमा केही समय बिक्रीचाप रहने संकेत गर्छ। यो लाइनले ढिलो संकेत दिन्छ तर भरपर्दाे पनि हुन्छ। जसअन्तर्गत अझै केही दिन बजारमा बिक्रीचाप रहने देखिन्छ।
बोलिंगर ब्यान्ड
बोलिंगर ब्यान्डका आधारमा अहिलेको बजारलाई विश्लेषण गर्नुपर्दा आजको कारोबारले बनाएको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ तर ब्रेकआउट नै भने भएको छैन। यदि मूल्यरेखाले केही दिनमा तल्लो ब्यान्डलाई छोएर ब्रेकआउट हुन्छ भने बजार बढ्ने सम्भवना रहन्छ। यसका लागि अझै १–२ दिनको कारोबार हेर्नु पर्छ।
आरएसआईका आधारमा
यदि यो विन्दु ७० भन्दा माथि हुन्छ भने ओभर बट जोन, ५० को विन्दुलाई न्युट्रल जोन तथा ३० भन्दा तलाको विन्दुलाई ओभर सोल्ड जोन भनेर बुझिन्छ। बजारको केही समयभन्दा पहिले ८३.५६ को उच्चतम विन्दु बनाएको थियो भने न्यून विन्दु २९.७८ बाट बजार माथि फर्केको थियो। हाल आजको कारोबारले यो विन्दु ३७.०९ मा अर्थात ओभर सोल्ड जोनमा पुगेको छ। यो विन्दुले अबका केही कारोबारबाट बजार फर्किन सक्ने संकेत गर्छ।
नोट : प्राविधिक विश्लेषण आफैँमा पूर्ण हुँदैन। त्यसैले सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। लगानी गर्नुभन्दा पहिले जोखिम तथा आफ्नो क्षमता आँकलन गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago