काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज बजारमा ६३.११ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २९०५.३२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.५७ अंकले घटेर ५२८.५५ को विन्दुमा ओर्लेको छ। सेयर किनबेच भने पौन १२ अर्ब बढीको भएको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आजको बजारको घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘बुलिस बजारमा करेक्सन आउनु स्वाभाविकै हो’, उनले भने, ‘बजार थोरै समयमै एउटा उचाइमा पुगेको छ, त्यसैले आजको करेक्सन प्राकृतिक नै हो।’
कारोबार रकम १२ अर्ब रुपैयाँको हाराहारीमा रहनुले बजार सकारात्मक नै रहेको मान्न सकिने रौनियार बताउँछन्। ‘केही दिनमै बजार पुनः लयमा फर्किने सम्भावना छ’, उनले भने, ‘त्यसैले आत्तिएर बजारबाट बाहिरिनुपर्ने अवस्था छैन, करेक्सनलाई अवसरका रुपमा सदुपयोग गर्नुपर्छ।’
नेपाल धितोपत्र बोर्ड (सेबोन) पछिल्लो वक्तव्यले बजारमा सामान्य प्रभाव परेको देखिने पनि रौनियार बताउँछन्। ‘सेबोनले ‘जोखिमयुक्त’ भन्दै खुलेआम ५१ कम्पनीको सूची सार्वजनिक गर्यो, यसमा सेबोनको कमजोरी देखिन्छ’, उनले भने, ‘यो सूचीमा केही राम्रा कम्पनीहरु पनि परेका छन्, यसले सामान्य नेगेटिभ इम्पाक्ट परेको छ, त्यसैले सेबोन सच्चिनु जरुरी छ।’
तेस्रो त्रैमासमा बैंकहरुको रिपोर्ट राम्रै आएको र अन्तिम रिपोर्ट पनि राम्रै आउने सम्भावना रहेकोले यो सेक्टर आउने दिन चल्न सक्ने रौनियारको भनाइ छ। ‘सम्भवतः बैंकिङ सेक्टर चलेपछि बजार फेरि नयाँ उचाइमा पुग्ने नै छ’, उनले भने।
बुलिस बजारमा मार्केट ट्रेन्ड र कम्पनीका आधारभूत पक्षलाई हेरेर लगानी गर्न सक्ने प्रतिफल निकाल्न सफल हुन सकिने खत्री बताउँछन्। ‘राम्रा कम्पनीमा जोखिम कम हुन्छ’, उनले भने, ‘बुलिस बजारमा जहिले पनि राम्राभन्दा कमजोर कम्पनीका सेयरभाउ उचालिएका हुन्छन्, यसमा जोखिम हुन्छ तर सदुपयोग गर्न सकिने भने कमाउन सकिन्छ। यदि कम जोखिममा लगानी गर्ने हो भने राम्रा कम्पनीहरुमै लगानी गर्नु उचित हुन्छ।’
खत्रीका अनुसार बजारमा अझै केही दिन करेक्सन आउन सक्छ। ‘बजारलाई कारोबार रकमले साथ दिइरहेकोले बजार छिटै लयमा फर्किन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। जलविद्युत समूह सर्वाधिक ३.३९ प्रतिशतले ओरालो लागेको आज बैंकिङ समूहमा १.७८ प्रतिशत, विकास बैंक समूहमा ३.३७ प्रतिशत, वित्त समूहमा ३.३३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३८ प्रतिशत, लगानी समूहमा २.०७ प्रतिशत, जीवन बीमा समूहमा १.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८३ प्रतिशत, अन्य समूहमा २.१५ प्रतिशत र व्यापार समूहमा २.४० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८.५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ४३ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको ३३ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २८ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड ६६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड ५१ लाख रुपैयाँ, निफ्राको २० करोड ३८ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको १९ करोड ९० लाख रुपैयाँ, अपी पावरको १९ करोड ३८ लाख रुपैयाँ र ज्योति विकास बैंकको १९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19