काठमाण्डौ । अघिल्ला दिनहरुमा झिनो अंकले घटिरहेको र लगभग स्थिर अवस्थामा रहेको नेप्से परिसूचक बुधबार १३.९२ अंकले घटेर १५५३.७२ को विन्दूमा झरेको छ । बजारप्रति सशंयपूर्ण नजर डूलाइरहेका लगानीकर्ताहरुलाई बुधबारको गिरावटले केही निराश पार्नसक्छ, तर समग्र अवस्था हेर्ने हो भने अहिलै नै निराश भइहाल्नुपर्ने देखिन्न । बजार परिसूचकमा करिब १४ अंकको गिरावट देखिए पनि बजारलाई कारोबार(टर्नओभर)को साथ झन्–झन् मजबुत बन्दै गएको छ । आइतबारदेखिको अवस्था हेर्ने हो भने कारोबार रकमको साथ दिनहुँ निरन्तर मजबुत बन्दै गएको देखिन्छ । 

विश्लेषकहरुका अनुसार बजार अहिले घटिरहनुुको मुख्य कारण सेयरको अधिक आपूर्ति हो । त्यसबाहेक कतिपय लगानीकर्ताहरुमा आत्मविश्वासको कमी समेत देखिएको छ । सेयरको अधिक आपूर्तिकै कारण यसपटक लगानीकर्ताले राम्रोसँग प्रोफिट बुक गर्न सकिरहेका छैनन्, यसले समेत उनीहरुलाई निराश बनाइदिएको छ । त्यसबाहेक बाँकी सबै परिदृश्य र अवस्था बजारका लागि सकारात्मक छन् । निर्वाचन हुने निश्चित भएपछि राजनीतिक वातावरण सफा छ, अधिक तरलता भएपछि बैंकहरुले ब्याजदर घटाएका घटाई छन् । यसको अर्थ थोरै ब्याजमै सेयर कर्जा पाउने अवस्था छ । लाभांशको घोषणापछि त्यसलाई पारित गराउने होड पनि बजारमा उस्तै छ । समग्रमा बजारका लागि सकारात्मक परिदृश्य बढी छन् । 

के–के भयो बुधबार ?
बुधबार होटल र ट्रेडिङ बाहेक सबै समूहको सूचकमा रातो पोतियो । होटल समूह ३१.३५ अंक र ट्रेडिङ समूह ११.७३ अंकले बढे । बैकिङ समूह ११.७, विकास बैंक ११.९४, जलविद्युत समूह २८.३८, बित्त समूह ५.२९, बिमा समूह ३६.७३, उत्पादनमूलक २९.८१ र अन्य समूह २१.११ अंकले घट्न पुुगे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ३.१८ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.९ अंकको  गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ५९ कम्पनीका १४ लाख ४७ हजार २ सय ७१ कित्ता सेयर ४७ करोड १० लाख बढीमा किनबेच भयो । सबैभन्दा बढी नेपाल टेलिकमले ६ करोड २६ लाख बढीको कारोबार गर्यो । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको १ करोड ६० लाख बढीको सेयर किनबेच भएको बजारमा नेपाल लाइफले १ करोड ४९ लाख, कुमारी बैंकले १ करोड ३६, नेपाल बैंकले १ करोड ३२ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ करोड २१ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान विकास बैंक र एकस्थान अन्यले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनीका सेयरधनीले कुस्त कमाए । यो कम्पनीको मूल्य ९.४७  प्रतिशतले वृद्धि भयो । विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि ७ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

यो दिन वरुण हाइड्रोले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६.०३ प्रतिशतले घट्न पुुग्यो । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले समेत ५.०५ प्रतिशतले सम्पत्ति गुमाए ।