काठमाण्डौ । अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारले नयाँ उचाइमा पुगेको छ। 

कारोबार खुलेको केही मिनेटमै नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। अहिले यो समाचार तयार पार्दासम्म पनि परिसूचक ४७.३३ अंकको उछालका साथ २१३४.६० को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो। 

उता राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.०५ अंकको बढोत्तरीका साथ ४०८.७६ को विन्दुमा उचाइमा पुगेको छ। यतिबेलासम्म साढे २ अर्बको हाराहारीमा सेयर किनबेच भइसकेको छ। 

अहिलेसम्म २ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। हिमालयन डिस्टिलरी र एसटीसीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो। 

उता नारायणी डेलभमेन्ट बैंकको सेयरमूल्यमा भने १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

यो बेलासम्म नेपाल लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको सेयर खरिदबिक्री उच्च देखिएको छ।